बिराज समाजद्वारा आन्तरिक पर्यटन प्रवर्धन चारदिने पदयात्रा कार्यक्रम सम्पन्न


हरेकपल December 27, 2022

सोलुखुम्बु । बिराज समाजले आन्तरिक पर्यटन प्रवर्धनका लागि ओखलढुंगा (जन्तरधाप) – सोलुखुम्बु (पिके शिखर, ४२००मिटर) हुँदै जुनबेँसीको थुप्तेन छोइलिङ गुम्बासम्मको चार दिने पदयात्रा (पुस ६ देखि पुस १०) सम्पन्न गरेको छ ।

पदयात्रा थालनी गर्नुअघि स्थानीय आधारभूत चारवटा विद्यालयलाई न्यानो कपडा वितरण र त्यसबाहेक थप एक विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । त्यसैगरी प्रदेश सांसद प्रदीप सुनुवारको प्रमुख आतिथ्यमा बिगुटार माविमा नगरस्तरीय हाजिरी जबाफ प्रतियोगितासमेत सम्पन्न भएको थियो ।

पदयात्राका अभियन्ता बिराज समाजका निर्वतमान अध्यक्ष दिनेशकुमार मगरले पदयात्राको उद्देश्य पदयात्राआ आइपर्ने समस्या, यात्रीका सुविधाका लागि गर्नपर्ने आवश्यक कार्यको अध्ययन भएको बताए । उनले भने, ‘२५ वर्षअगाडि पिके पैदल यात्रा गर्दा र अहिले फरक अनुभूति गरेँ । बुल्बुलेबाट पिके शिखरको आधार शिविरमा पुग्ने क्रममा साँझ परेकोले फ्ल्यासलाइट प्रयोग गर्नुपर्यो । फाप्लुबाट जुनबेँसी जाने मोटरबाटो एउटै मात्र भएकाले बेलुकीको अँध्यारोमा पटकपटक बाटो भुलियो । तर यसले यात्राका समस्या बुझ्न हामीलाई मदत गरेको छ ।’ यात्रानुभूतिकै क्रममा व्यवसायिक पथप्रदर्शकभन्दा बढी जानकारी भएका अनिमेषको सहयात्रा र सहयोगले यात्रा अझ स्मरणीय बनेको दिनेशले स्मरण गरे ।

पदयात्री समूहका एक सदस्य पूर्व एआइजी राजेश श्रेष्ठले हरेकपल संवाददातालाई भने, ‘यसरी देशको भूमिमा पैदल यात्रा गर्न सके आन्तरिक पर्यटन प्रवर्धन पनि हुन्छ र देशका बारेमा धेरै कुरा जानकारी पाइन्छ । त्यसकारण कम्तीमा वर्षको एक पटक यसरी समाजसेवा र पदयात्रालाई जोड्ने बिराज समाजको योजना सराहनीय छ ।’

अभियन्ता दिनेशकुमार मगरको नेतृत्वमा भएको चारदिने पदयात्रामा पूर्व एआइजी राजेश श्रेष्ठ, एलिको मेटलाइफ इन्सुरेन्स कम्पनीका सिइओ निर्मलकाजी श्रेष्ठ, समाजसेवी दिनेश राजभण्डारी, सबन श्रेष्ठ र अनिमेष श्रेष्ठ आदिको सहभागिता थियो ।