गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । १८ गते गण्डकीमा पहिलो बैठक बसेको थियो ।
त्यसैले बढीमा माघ २ गतेभित्र सभामुख निर्वाचित भइसक्नुपर्छ । बिहीबार सर्वदलीय बैठक बसेर ३० गते नै सभामुखको निर्वाचन गर्ने र २ गते उपसभामुखको निर्वाचन हुने निर्णय गरिएको हो ।
सत्तारुढ दलको शीर्ष निर्णयअनुसार गण्डकीमा माओवादीले पाँचै वर्ष सभामुख पाउनेछ भने उपसभामुख एमालेको भागमा परेको छ । माओवादीले कृष्ण धिताललाई सभामुखमा अघि सारेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवार उठाउने वा नउठाउने निर्णय गरिसकेको छैन । दलको बैठक शुक्रबार बसेर यसबारे निर्णय लिने संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।