क्लिटन स्कुलको ११औं वार्षिकोत्सव समारोह सम्पन्न ।


हरेकपल January 23, 2023

काठमाडौँ । चावहिल (गणेशस्थान)स्थित क्लिटन स्कुलको ११औँ वार्षिकोत्सव नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा विद्यार्थीहरूका साङ्गीतिक, सांस्कृतिक, साहित्यिक, खेलकुद, योगा लगायतका प्रस्तुतिका साथमा भव्य रूपमा सम्पन्न भएको छ ।

समारोहमा प्रमुख अतिथि पुरुषोत्तम दाहालले स्तरीय शिक्षाका लागि क्लिन्टन स्कुलको चर्चा हुने गरेको बताउनुभयो । समारोह उद्घाटनका क्रममा छात्राहरूद्वारा संस्कृतमा गरिएको मन्त्रोच्चारण र शङ्ख ध्वनिको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘गार्गी जस्ता विदुषी भएको देश हो हाम्रो । महिलाले वेद पढ्नुहुँदैन भन्ने रुढीलाई हामीले हटाउनुपर्छ । नेदरल्याण्डमा विद्यालयको पाठ्यक्रममा ‘गीता’लाई राखिएको छ । संस्कृतको महत्त्व संसारमा बढेर गएको छ । क्लिटनका विद्यार्थीले अङ्ग्रेजीको उच्चारण राम्रोसँग गर्नुका साथै संस्कृतको मन्त्र पनि राम्रोसँग उच्चारण गरेको देखेँ । अहिले कुनै पनि साना नानीबाबुलाई पढेर के गर्छौ भनेर सोध्यो भने युरोपका कुनै देश वा अमेरिका वा अष्ट्रेलिया जाने कुरा बताउँछन् । हाम्रा नानीबाबु विदेश जाँदा पनि त्यहाँ नेपालीपन बोकेर जाऊँन् । नेपाली संस्कृति, गीत–सङ्गीत, नेपाली आत्मा बोकेर जाऊँन् । क्लिटन स्कुलले त्यसतर्फ ध्यान दिएको आजको कार्यक्रमले देखाउँछ ।’

कार्यक्रममा विशेष अतिथि विमल होडाले आफ्नो वडा क्लिटनजस्ता स्तरीय विद्यालय भएकोमा खुसी प्रकट गर्दै भन्नुभयो, ‘हाम्रो वडा विद्यालय स्तरमा काठमाडौँ महानगरमै उत्कृष्ट शिक्षा प्रदान गर्ने वडा हो । यसमा क्लिटन जस्ता स्कुलको महत्त्वपूर्ण भूमिका छ ।’

कार्यक्रममा क्लिन्टन स्कुलका प्रिन्सिपल हिक्मत रायमाझीले आगामी सत्रदेखि अभिभावकसँग सल्लाह गरेर विद्यार्थीहरूलाई संस्कृत भाषा पनि सिकाउने र सीपसँग सम्बन्धित फेसन डिजायनिङ, कुकिङ(पाकशास्त्र) आदि जस्ता विषयलाई पनि पाठ्यक्रममा समावेश गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले विद्यार्थीहरूको समस्याप्रति गम्भीर चिन्ता प्रकट गर्दै वर्तमान समयमा विद्यार्थीहरूको सबभन्दा ठूलो समस्या मोबाइलको दुरुपयोग भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अभिभावकले बालबालिकाले गर्ने गरेको मोबाइलको दुपयोगप्रति ध्यान दिन आवश्यक छ । मोबाइलको लतका कारण विद्यार्थीले पढाइमा ध्यान दिइरहेका छैनन् । होमवर्क गर्दा पनि हतार–हतारमा गर्ने गरेका छन् । यसले गर्दा उनीहरूको पढाइ कमजोर हुँदै गएको छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘कतिपय अभिभावक ६ महिनामा एकपल्ट पनि आउनुहुन्न विद्यालय । विद्यार्थीका कतिपय समस्या विद्यालयलाई थाहा हुँदैन र कतिपय विद्यालयलाई थाहा भएका समस्या अभिभावकलाई थाहा हुँदैन । त्यसैले अभिभावकले विद्यालयमा आएर आफ्ना बच्चाको बारेमा जानकारी लिने र दिने कार्य गरिरहनु आवश्यक हुन्छ ।’

विशिष्ट अतिथि स्रष्टा डा. ज्ञानु पाण्डे, यस्तै विमल होडा, यमनाथ चौलागाईं, हरिगोपाल कक्षपति, ज्ञानप्रसाद खनाल लगायतको आथित्यमा सम्पन्न समारोहको सभापतित्व साहित्यकार मनोजादित्य न्यौपानेले गर्नुभएको थियो ।

कोरोना कालमा अनलाइन मार्फत विद्यार्थीलाई शिक्षा प्रदान गर्ने कार्यमा क्लिटन स्कुलले अग्रणी भूमिका निर्वाह गरेको थियो । आफूलाई एउटा छुट्टै स्कुलका चिनाउन चाहने यस विद्यालयले आईटीमा आधारित विद्यालयका रूपमा आगाडि बढाएको छ ।