- आचार्य प्रभा
मूर्ति पुजेर
मान्छेलाई घृणित व्यवाहार गर्नु
मानवीयता हैन जस्तो लाग्छ
तर … बाध्यता,
जब मान्छेहररू नै मूर्तिभन्दा
अन्धो र कठोर बन्छन् भने
अनि… मान्छेहरू नै अचल बनेर
पापको भागिदार बन्छन् भने
अर्को विकल्प नै के रह्यो र ?
हो, कस्ले सुनेको छ ?
ईश्वरले आशीष फलाकेको ?
कस्ले महसुस गरेको छ
ढुङ्गाको मूर्तिले शिरमा
आशीर्वादको स्पर्शले छोएको ?
तर पनि मान्छे,
आस्थाको धरोहरमा भुलेर
ढुङ्गाको देव पुज्न बाध्य छन्
मान्छेलाई अनास्थाको खण्डहरमा
धकेलेर निर्जीव मूर्तिलाई
कोठा र चोटामा सजाउन
लालायित छन्
अनि… यिनै मान्छे,
मानवीयताको व्यापारी बनेर
ईश्वरलाई बलि चढाउने बहानामा
निरीह पशुहरूको हत्या गर्न
उत्प्रेरित छन्।
वास्तवमा कस्ले सुनेको छ
मूर्तिले रगतको भिख मागेको ?
कस्ले देखेको छ
ढुङ्गाका देवताहरुले हिंस्रक बनेर
बलिको रगत पिएको र चोक्टा लुछेको ?
तर… पनि मान्छे
धर्मको आडमा हत्या गर्न
अभिप्रेरित छन्
अनि तिनै प्रसादरूपी चोक्टाहरू
राक्षस बनेर प्रसादको बहाना गरी
लोभी जिब्राहरू लप्लपाएर
लुछ्न मग्न छन् ।
अब… सोचौँ,
मानव मन–मस्तिष्कलाई घच्घच्याएर
मान्छेको अपमान मान्छेले किन गरिरहेछन् ?
मूर्ति पुज्ने निहुमा हत्यारा
किन बनिरहेछन् ?
अनि… मान्छेलाई विश्वासको
किनाराबाट पन्छाएर
निर्जीव ढुङ्गा किन ढोगिरहेछन् ?
हो… मूर्ति पुज्ने मनहररूले नै
मान्छेलाई घृणा गरिरहेछन्
तर फेरि निर्जीव देवताको आस्थाको
अभीप्सामा आफैँ राक्षस बनिरहेछन्
त्यसैले मूर्ति पुजेर मानवताको
ढोङ पिट्नु र मान्छेबाट नै अमानवीय
व्यवहार पाउनु सायद एकार्काको
पर्याय बनिरहेछ… !
…