रवि लामिछाने लिए नागरिकताको प्रमाणपत्र


हरेकपल January 29, 2023

काठमाडौं । रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । 

‘उहाँ रवि लामिछानेले अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर नेपाली नागरिकताको प्रमाणपत्र आज लिनुभएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिए । 

अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री पद खारेज गरिदिएको थियो । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापति पद पनि गुमाएका थिए ।

सर्वोच्चको सोआदेशको भोलिपल्ट हिजो शनिबार परेको र आज आइतबार कार्यालय समय सुरु भएसँगै लामिछाने नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।