बर्दी बिनाका प्रहरी



– खगेन्द्र गिरि ‘कोपिला’

हामी सुरमीनालानिर पुग्दा अँध्यारो–अँध्यारो हुन थालिसकेको थियो । कस्तो अचम्म ! मिटवा (छविलाल कोपिला) र नीमबहादुर थापा दाजु चढेको बस र हामी एकैचोटि पुग्यौं सुरमीनालानिर । सल्लाह गरेजस्तै भयो । आज साँझ यहाँ आइपुग्ने हाम्रो सल्लाह भए पनि एकैचोटि पुग्ने सल्लाह भने गरेका थिएनौं । उहाँहरू देउखुरीबाट कोहलपुर, अतरिया, धनगढी हुँदै लगभग ३२० किलोमिटरको लामो फन्को मारेर आइपुग्नु भएको हो । म र ललित केसी भाइ नेपालगंजबाट सोझै पश्चिमतिर हान्निएर आइपुगेका हौं । हामीले पनि हुलाकी राजमार्ग लगभग १२० किलोमिटरजति त छिचोलेको हौंला ।

सूर्य नउदाएको दिन उसै पनि अँध्यारै हुन्छ । चिसो मौसमको निष्ठुर प्रहारले कम्पन छुटिरहेको छ जिउभरि । उहाँहरू भेटिएपछि त न्यानो-न्यानो अनुभूति भएर आयो । फेरि आइपुगे सागर, कुश्मी र नरेन्द्र चौधरी पनि । सबैजना छेवैको कविता राइस मिलमा गयौं । यो साहित्यप्रेमी विश्वदेव चौधरीको मिल हो । विश्वदम्पतीसँग भेट भयो । चिया पियौं । चिया पिएर शरीरमा अलिअलि स्फुर्ति थपिएपछि हामी हिंडि पनि हाल्यौं त्यहाँबाट ।

सुरमीनालालाई नालाभन्दा पनि चौबाटो भन्न सुहाउँछ । सुरमीनालाको पुलैनिर उत्तरतिरको बड्कामुडा भन्ने गाउँबाट आउने छेमानन्द महतोमार्ग हुलाकी सडकसँग मिसिन्छ । गाउँघरमा यत्तिको दोबाटो भएपछि ससानो बजार बनिहाल्छ ।धनगढीबाट आउने बस यहींनिर रोकिने भएकोले बजार बनिसकेको छ यो दोबाटो । बड्कामुडा नेपालमा थारु समुदायबाट पहिलोचोटि २०१३ सालमा मन्त्री भएका छेमानन्द महतोको गाउँ हो ।

सुरमीनालाको पुलैनिरबाट देब्रेतिर जाने बाटो समात्यो हाम्रो टोलीले । अघिसम्म हामी दुई–दुई जनाको टोलीमा बाँडिएर आ–आफ्नै प्रकारले हिंडिरहेका थियौं । अब छ जना भएका छौं । दुइटा मोटर साइकिलमा तीन–तीन जना अटाएपछि यातायात नियमको उलङ्घन त भैहाल्यो तर नियमलाई संगतको मिठासले जितिहाल्यो ।

‘अलिअलि नियम मिचेन भने नेपाली हुनुको के स्वाद !’ हँसाउनुभो नीमबहादुर थापाले ।

दुई मिलोमिटरजति कुदेपछि पुगियो मोहना नदीको बगरमा । मोहनामाथि काठका फल्याकहरू मिलाएर सानो पुल बनाइएको रहेछ । यसलाई काठेपुल भन्दारहेछन् तर मलाई भने गुन्द्रीपुल भन्न मन लाग्यो । काठका फल्याकहरू गुन्द्री ओछ्याएजसरी चटक्क मिलाएर पुल बनाइएको छ । मोटर साइकिल र साइकलहरू खुरुरुरुरु चलाएरै वारिपारि गराउन सकिंदोरहेछ । त्यस्तै गर्‍यौं हामीले पनि ।

‘हरचाली’ नामक थारु भाषी पत्रिकाले आयोजना गर्न लागेको साहित्यिक पदयात्राको सिलसिलामा हामी आएका हौं यहाँ । २०७९ सालको पुस १३ देखि १५ गतेसम्म तीन दिन नेपाल भारत सीमाक्षेत्रका मोहनापारि पर्ने गाउँहरू डुल्ने र सीमाक्षेत्रका विषयवस्तुलाई बटुलेर लेख्ने उद्देश्य राखेर आयोजना गरिएको यात्रा हो यो । पदयात्रा भने पनि हामी कतै मोटर साइकिलद्वारा गर्ने छौं त कतै पैदलै हिंड्ने छौं ।

मोहनाको बलौटे बगर पार गरेर शिवरत्नपुर भन्ने गाउँमा उक्लियौं हामी । तीनतिर भारतको वनले घेरेको सानो गाउँ शिवरत्नपुरलाई उत्तरतिरबाट मोहना नदीले चेप्दैचेप्दै झन् सानो बनाएको रहेछ । एउटा अग्लो टारमाथि टुक्रुक्क बसेको छ गाउँ । यो सानो गाउँ पनि बड्कापुर्वा र छोट्कीपुर्वा गरी दुईओटा टोलमा विभक्त छ । शिवरत्नपुर कैलारी गाउँपालिकाको वार्ड नं.३ अन्तरगत पर्दोरहेछ । कैलाली जिल्लाभित्र कैलारी नाम गरेको गउँपालिका पनि छ तर कैलाली भन्ने बानी परेका हामीलाई कैलारीको उच्चारण गर्न भने अलमल परिरह्यो ।

आजको हाम्रो बास धनीराम चौधरीको घरमा छ । उनी बड्कापुर्वाका भलमन्सा हुन् । हामी सोझैं उनकै आँगनमा पुग्यौं । गाउँको माझैमा छ उनको घर ।

थारु समुदायमा भलमन्सा छान्ने पुरानो चलन अद्यावधि चलेकै छ । ‘पार्टीबाट उठेर चुनाव गरी छानिने अध्यक्ष र सदस्यले पक्षपात गर्छन्, भलमन्सा सबैका साझा हुन्छन्, पक्षपात गर्दैनन्’, भलमन्साको परम्परा जोगाइराख्नुको गुह्य कुरा सुनाइन् हीरा चौधरीले । भलमन्सा भनेको गाउँको मुखिया हो । भलो र मनुष्य दुइटा शब्द जोडिएर बनेको भलमन्सा शब्दलाई सबैको भलो गर्ने मान्छे भन्ने जनाउँछ । सबैको भलो गर्ने भएकोले नै थारु समुदायमा नेताभन्दा बढी आदर र भरोसा पनि गरिन्छ भलमन्साको ।

सबैभन्दा पहिले हातमुख धोएर हामीले धनीराम चौधरीको घरभित्र बनाइएको भुतवाकुन्टीमा गएर ढोग्यौं । थारुहरू आफ्नो पुज्य देवतालाई भुतवा भन्छन् । यी कुनै तर्साउने वा पैशाचिक भूत नभएर विगत वा भूतकालका पुर्खाहरू नै हुन् । कुन्टी भनेको कोठा भैहाल्यो । धनी, गरिब, सानो, ठूलो जे भए पनि हरेक घरमा भुतवाक् कुन्टी (देउताको कुनो) भने अवश्य बनाएका हुन्छन् थारु समुदायमा । भुतवालाई मानेपछि कुनै प्रकारको असुविधा, अवरोध र गाहारो हुँदैन भन्ने विश्वास छ । कसैको घरमा गएपछि त्यो घरका देउता, वृद्धवृद्धा र परम्परालाई मान्नु हाम्रो संस्कार नै हो ।

जाडोले लुगलुग कपाउन थालिसकेको थियो । हामी अँगेना वरिपरि झुम्मियौं ।अँगेनामा ठूलाठूला मुढा जल्दै थिए । ‘भारतबाट ल्याएका मुढा हुन्’ सुनाए धनीरामले । खाना पाक्दै थियो गाउँलेहरू भलमन्साको आँगनमा भेला हुन थालिसके । हामीलाई उनीहरूले पत्रकार सोचेका रहेछन् । ‘लिखुइया आइल्याटैं’ (लेख्ने मान्छे आएका छन्) भनेर छविलालले गाउँभरि सूचना पनि गरिसकेका रहेछन् । तर हामीहरू आज लेख्नेभन्दा पनि सुन्ने मुडमा छौं । गाउँलेहरू सबैले एक-एक आ-आफ्ना समस्या सुनाए । नेपाली भएर पनि नेपाली हौं भन्न नसकिएको पीडा पोखे खुसीराम चौधरीले ‘मोहना नदीभन्दा पारि परेकोले देशको मूल भूमिसँग बिरानोजस्तो भएर बस्नुपरेको छ ।’

‘हामी घाँस–दाउरा, मेलापात, चरन-धरन सबै काममा भारतमैं निर्भर छौं’ सुनाए दिलबहादुर चौधरीले । ‘अरू त अरू मोहनामा बाढी आएर गाउँ डुब्यो भने ओत लाग्न भारतकै वनमा जानुपर्छ ।’

राती अबेरसम्म बसे गाउँलेहरू । कसैले गीत गाए, कसैले केही उखान–टुक्का पनि सुनाए । कोही हाँसे, कोही नाँचे । कसैले रुवाए र कोही रोए पनि । निमबहादुर दाजुले भैंसीपालन गरेर आर्थिक स्तरोन्नति गर्ने उपाय सुझाउनुभो । ‘अरू कुरा सपार्न सके पनि हामी नदीलाई सपार्न सक्दैनौं । उसको आफ्नै विधान हुन्छ । अब यही नदीसितै जुधेर बाँच्न सिक्नुपर्छ । मोहनाको बालुवामा फलाउन सकिने फल र तरकारी उत्पादन गरेर यो नदीलाई उपभोग गर्न आरम्भ गर्नुहोस् ।’ थोरै बोल्ने तर बोलेपछि घत पारेरै बोल्ने मिटवा छविलाल कोपिला पनि बोल्नु भो अन्तमा ।

गाउँको वास, जाडोको याम, राती सुत्ने व्यवस्था राम्रो हुन्न कि भन्ने डर थियो । तर भलमन्साको घरमा हाम्रो निम्ति गरिएको ओढ्ने ओछ्याउने व्यवस्था कुनै होटलको भन्दा थोरै थिएन । थारु समाजमा पाहुनाहरू आए भने सजिलो हुन्छ भनेर पकाउने भाँडा, ओढ्ने ओछ्याउने कपडा र खुवाउने कुराको सामूहिक व्यवस्था हुने चलन हुन्छ । त्यो चलनको परिपालना शिवरत्नपुरमा पनि भएकै रहेछ ।

भोलिपल्ट बिहानै हामी गाउँ डुल्न निस्कियौं । हिजोको भन्दा दिन केही खुल्छ कि जस्तो भएको छ आज । बारीमा उभिएका तोरीका बोटहरू बिहानैदेखि आफ्नो उज्यालो पोखिरहेका छन् । आकाशबाट निस्किन अल्छी मानिरहेका सूर्यभन्दा यी तोरीका बोटले पोखेको उज्यालो नै लाग्यो धेरै तेजिलो । हेरेर हामी पनि उज्यालियौं बिहान–बिहान ।

भारतको वन र नेपाली खेतको माझैको ढिस्कोमा अग्लो सीमास्तम्भ ठडिएको देख्यौं । त्यो सीमास्तम्भबाट पूर्वपूर्व तन्किएर गएको दशगजाको रेखा निकै बाङ्गोटिङ्गो देखियो । त्यो रेखा मोहना ढिकमा गएर अलप हुन्छ र फेरि नदीपारि देखिन्छ । हामीले मोहनालाई दुई देशको सिमाना मान्दै आएको भए पनि यता भने मोहना कतै नेपालतिर पसेको छ कतै भारततिर ।

यो सिमानाको कथा पनि अनौठो छ । आजभन्दा १६५ वर्षअघि सन् १८५७ मा भारतमा भएको गदर विद्रोहलाई दमन गर्न जङ्गबहादुर राणाले अङ्ग्रेजको सहयोगार्थ नेपाली सेना पठाएका थिए । नेपाली सेनाको गुन तिर्न अङ्ग्रेज सरकारले हाल कञ्चनपुर, कैलाली, बर्दिया र बाँके जिल्लामा विभक्त भएको करिब दश हजार वर्ग किलोमिटर भूभाग नेपाललाई दियो । हुन त यो भूभाग पहिले पनि नेपालकै थियो । सन् १८१५ को सुगौली सन्धीमा यो भूभाग नेपालको हातबाट गुमेको थियो । फेरि नेपालमा जोडिन आएको यस भूभागलाई जङ्गबहादुर राणाले नयाँ मुलुक नाम दिएका हुन् । सन् १८६० मा कञ्चनपुर पश्चिमको कुतियाकवरदेखि बाँके पूर्वको सुइयासम्म सिमाना छुट्टयाएर स्तम्भ ठड्याउने काम सम्पन्न भयो । त्यतिखेर छुट्टयाएको सिमाना अन्यत्र प्रायः सोझै छ तर कैलालीलाई भारतसँग छुट्टयाउने सीमारेखा भने निकै बाङ्गोटिङ्गो छ । सीमा क्षेत्रमा बग्ने मोहना नदी आफ्नै गतिमा बगिरहेको छ । त्यो नदी कतै नेपालपट्टि त कतै भारततिर पसेको छ । नदीलाई आधार नमानेर सीमाको रूपमा दशगजाको रेखा कोरिएको थियो । स्थलगत कृत्रिम रेखा नै कोर्ने भएपछि पूर्वदेखि पश्चिमसम्म तनक्क तन्काएर सोझै रेखा नकोरेर किन बाङगोटिङ्गो रेखा कोरे होलान् ? जिज्ञासाहरू उठे मनमा । तर उत्तर कसैसँग छैन । त्यो बेला बाङ्गोटिङ्गो रेखा नकोरेर सोझै कोरेको भए अचेल सीमा व्यवस्थापन गर्न निकै सजिलो हुने थियो ।

सुनेको थिएँ — यो क्षेत्रमा उहिले नेपालपट्टि पातलो बस्ती थियो । भारतपट्टि घना वन भए पनि उताका मान्छेहरू टाढा–टाढाबाट यहाँ आएर मोहनाको छेउछाउमा गोठ बनाई गाईबस्तु पालेर बसेका हुन्थे । सीमारेखा कोर्ने बेलामा उनीहरूकै माग र सुविधाकोे आधारमा जताजता उनीहरूका गोठ छन् ती भूभाग भारततिर पारिंदा सीमारेखा बाङ्गोटिङ्गो हुन गएको हो । यो भनाइ केही मात्रामा बलियो लाग्यो । पछिपछि मोहनामा आइरहने बाढीले सीमारेखालाई झन् भताभुङ्ग पार्दै ल्यायो ।

हामी बसेको टोलमा भने बाढी पसेको रहेनछ । तर मोहनाले कतिखेर रौद्र रूप धारण गरेर स्वात्तै बगाउने हो भन्ने पीडाले घेरिरहेको छ गाउँलेलाई । गाउँको पश्चिमपट्टि थारुले पुज्ने देवताको मढै (थान) बनाएकोले यो गाउँमा बाढी नपसेको हो भन्ने विश्वास गर्दारहेछन् गाउँलेहरू ।

बुढापाकाहरूले सुनाए — शिवरत्नपुरको बस्ती २०३९ सालतिर बस्न आरम्भ भएको हो । त्यतिखेरका सेती अञ्चलाधीश रत्नबहादुर गुरुङको अनुमतिले हसुलियाका स्थानीय पञ्च शिवलाल डाँगीले बसाएका रहेछन् यो बस्ती । ती दुवै जनाको नाम जोडेर गाउँलेहरूले आफ्नो गाउँको नाम नै राखेका रहेछन् शिवरत्नपुर । मोहनाको व्यथा भने उहिलेदेखिकै रहेछ ।

डुल्दैडुल्दै गाउँको पश्चिमतिर पुग्यौं । यो १५/१६ वटा घर भएको छोट्कीपुर्वा टोल हो । यो भने निकै क्षतविक्षत रहेछ । मोहनाको बाढीले कटान गरेर यस टोलका मान्छेहरू अन्यत्र विस्थापित भैसकेका छन् । खेतबारीहरू मोहनाको बगरमा परिणत भैसकेको देख्दा कटक्क भएर आयो मन । ‘ऊ यहींनिर थियो गाउँ’ आँखाका डिलमा टिलपिल–टिलपिल आँसु पार्दै सुनाइन् हीरा चौधरीले । अझै पनि बगरको छेउमा ससाना बुक्रा (झुप्रा) बनाएर एक–दुईजना मान्छे बसेकै छन् यहाँ । नदीमा विलीन भैसके पनि आफ्ना खेतबारीको माया भैहाल्दोरहेछ । बगरमा परिणत भएका आफ्ना खेतबारी फेरि पहिलेजस्तै बन्लान् कि भन्ने अचम्मको अज्ञात आशा पालेकै छन् गाउँलेहरूले ।

छोट्कीपुर्वाका भलमन्सा मानबहादुर चौधरीले हामीलाई गाउँको पश्चिमी डिलसम्मै पुर्‍याए । गाउँलेहरूले मोहनामा तटबन्ध नबनाएका पनि हैनन् । ‘रोकथामका हरेक उपाय अपनाउँदा पनि मोहनालाई छेक्न सकिएन । दुबै टोल गरेर जम्मा ८९ वटा घरधुरी छौं, हाम्रो सारा श्रीसम्पत्ति बेचेर पनि तटबन्ध बनाउन सक्दैनौं, ठूलो बजेट भएको ठाउँसम्म पुग्ने पहुँच र क्षमता हाम्रो छैन’ भने लक्ष्मीप्रसाद चौधरीले । पश्चिमपट्टिको कुनामा तटबन्ध नबनाउँदासम्म कटान गर्ने बाढीको धार नरोकिने रहेछ । ‘त्यो कुनोनिर सिमाना पर्ने भएकोले भारतकै भूमि छोएर भारतले तटबन्ध बनाउन दिंदैन, त्यहाँनिर तटबन्ध नबनाएसम्म कटान रोकिन्न’ सुनाए बाध्यता ।

हाम्रो दोस्रो दिनको गन्तव्य मोहनपुर हो । त्यहाँ पुग्न फेरि दुई पटक मोहना तर्नु छ । यो गाउँ पनि हुन त मोहनाकै पारि पर्छ तर सोझै जान भारतीय भूमि टेक्नुपर्छ । हामीले नेपालनै भएर जाने निधो गर्‍यौं । एक हूल गाउँलेहरू हामीलाई पुर्‍याउन नदीकै ढिकसम्म आए ।

हिजै तरेर गएको गुन्द्री पुल फेरि तर्‍यौं र आइपुग्यौं सुरमीनाला । लाग्यौं पश्चिमैपश्चिम । भित्रिया भन्ने गाउँबाट मोडिनुपर्‍यो देब्रेतिर । थोरै अगाडि गएपछि आँखामा ठोक्कियो फेरि मोहनाकै बगर । शिवरत्नपुर जाँदा तरेको भन्दा यहाँनिर मोहना निकै फराकिलो रहेछ । नदीमा बग्ने पानीको घनत्व त उत्तिकै हो । यहाँ बाढीले बनाएको बलौटे बगर भने निकै फराकिलो रहेछ । यहाँ पनि गुन्द्री ओछ्याएजस्तै देखिने काठेपुल तर्‍यौं। हिजोको भन्दा अलिकति लामै रहेछ । उसैगरि खुरुरुरु मोटरसाइकिलमा दुगुर्दै पारि पुग्यौं । मोहनपुर गाउँभन्दा पहिले यहाँ वनले बाटो छेक्यो । बाढीको रोकथाम गर्न गाउँलेहरूले पालेर हुर्काएको सामुदायिक वन रहेछ यो । वर्षातमा बाढीको पानी पसेर क्षतविक्षत पारेका दृश्य देखिए वनभित्र पनि ।

आइपुग्यौं मोहनपुर । शिवरत्नपुरजत्रै रहेछ मोहनपुर । ‘एकानब्बे घरधुरी छन्’ सुनाए सागर कुश्मीले । उनी यो क्षेत्रका विषयवस्तु मिडियाद्वारा उठाइरहने जाँगरिला युवा हुन् । उनकै उत्प्रेरणाले यहाँसम्म आइपुगेका छौं हामी ।

मोहनपुरमा घर शिवरत्नपुरका भन्दा ठूलाठूला र खेतबारी पनि फराकिला देखिए । वहाँभन्दा यहाँ भौतिक विकासको आगमन अलि छिट्टै भैसकेको रहेछ । पक्की घर र ग्रेभलिङ् सडकले विकासलाई पछयाइसकेको जनाउ दियो । हामी सोझै भलमन्सा रामप्रसाद चौधरीको आँगनमा पुग्यौं । यहाँ पनि धेरै मान्छे भेला भैसकेका छन् । प्लास्टिकका कुर्सी राखेर पाल पनि टाँगिएको छ । साहित्यिक पदयात्राको ब्यानर पनि झुण्डिएको रहेछ ।

मोहनापारि सबैभन्दा पहिले बसालिएको बस्ती हो रे यो । यो बस्तीको नामकरणको सम्बन्धमा मोहनापुर मोहनापुर भन्दाभन्दै मोहनपुर भएको हो सुनाए श्यामपती चौधरीले । यस गाउँमा पनि थारु जातीका मानिस मात्र बसोबास गर्दा रहेछन् ।

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी पनि आउनुभएको छ । उनै भलमन्सा रामप्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम आरम्भ भयो । अनेक युवाहरूले आफ्ना विचार राखे । कसैले गीत सुनाए, कसैले समस्यामात्रै उठाए । प्रायःजसो यतातिरका गाउँका मान्छे आफ्नो मनका भावनाहरू कुनै जलप नलगाएर खरररर भन्न सिपालु भैसकेका रहेछन् जस्तो लायो । हेर्दाखेरी निकै लजालु देखिने सुमन चौधरी यसरी फररर बोलिन् कि हामी हेरेको हेरै भयौं ।

कार्यक्रम सकिएपछि यहाँ पनि हामी गाउँ डुल्यौं । खानपान पनि भयो उसैगरी । थारु शैलीमा थारु परिकार पस्किए । खाएर परपरसम्म सीमास्तम्भ र बाढीले बगाएका खेत पनि हेर्न गयौं । गाउँलेले पुरै डुलाइदिए गाउँको वल्लो छेउदेखि पल्लो छेउसम्म । गाउँको पश्चिमी कुनामा सामुदायिक भवन र आपतकालीन उद्धार केन्द्र पनि रहेछन् । यस केन्द्रमा अकस्मात बाढी आइहाल्यो भने आपकालीन सूचना दिन र उद्धार गर्न काम लाग्ने आधुनिक उपकरणहरू भण्डारण गरिएका रहेछन् । सबै उपकरण एकएक गरी देखाए र तिनीहरूको उपयोगिता र विशेषता सुनाए चन्द्रपति चौधरीले ।

आफ्नो सामूहिक प्रयासले सक्ने जति गरेकै छन् यस गाउँका वासिन्दाहरूले । सबैभन्दा मुख्य समस्या भनेको बाढी नै रहेछ र सबैको माग भनेको झोलुङ्गे पुल नै रहेछ । ‘आधारभुत आवश्यकतालाई सरकारले पुरा गरिदियो भने अरू त हामी आफै गरिहाल्छौं’ मोहनपुरका युवाहरूमा अठोट र आँट भरपुर देखियो ।

‘हमार माग सरकारहे सुना डेबी’ (हाम्रा माग सरकारलाई सुनाइदिनु होला है) सबैले यस्तै भनी रहे हामीलाई । ‘लिखुइया’ भएर यस गाउँमा आएका भए पनि मानौं हामी उनीहरूको लागि सरकारकै प्रतिनिधि हौं ।

‘हामीले त लेख्ने हो, पढ्नु, नपढ्नु सरकारकै हातमा छ’ भन्न मन लागेको त हो तर भन्न सकिएन । मोहनपुरवासीका निश्छल भावनाहरूलाई आहत बनाउन सकिनँ ।

अब पुग्नु छ हाम्रो पदयात्राको तेस्रो मुकाम हौसलपुर । यो गाउँ भने शिवरत्नपुर र मोहनपुरभन्दा धेरै टाढा पर्छ । मोहनपुरबाट त लगभग १५ किलोमिटर जति नै कुद्नु पर्‍यो त्यहाँ पुग्न । हुलाकी सडकमा पर्ने उनै भित्रिया, सुरमीनाला, हसुलिया र पवेरा हुँदै बैंसपुरसम्म पूर्वपूर्व कुदिरह्यौं एकोहोरो ।

बैंसपुरबाट आरम्भ भो वसन्ताको वन । थारुहरूले ‘बड्का वनवाँ’ भन्ने यो वनलाई वसन्ताको वन पनि भनिन्छ ।

‘डाडु चलि एकघँची रखौनारखौनी झाँके’.(दाजु हिंड्नुहोस् एकपटक रखौना-रखौनी हेर्न) सागर भाइको प्रस्तावले लोभिइहाल्यो मन । यही वनभित्र हुलाकी सडकको नजिकै पर्छ रे रखौना-रखौनी ताल । हेर्न जानु पर्छ भनेर हिजोदेखि भनेकाभनै छन् उनी ।

‘रखौना-रखौनीमा मन राख्न त जानै पर्‍यो सर’ ललित भाइको रहर पनि छचल्किरहेकै छ । नदेखेको ताल हेर्ने मौका गुमाउने कुरै भएन । लाग्यौं देब्रे मोडिएर हामी रखौना-रखोनी ताल हेर्न ।

रखौनारखौनीसँग जोडिएको मिथक पनि निकै रमाइलै रहेछ । सागर कुश्मी बेलीबिस्तार गर्न लागे— रखौना रखौनी थारु संस्कृतिसँग जोडिएको शब्द हो । थारु समाजमा माया गरेर मन राखिदिने केटालाई ‘मनरख्ना’ र मन राखिदिने केटीलाई ‘मनरख्नी’ भनिन्छ । उहिलेउहिले केटाकेटीहरू एकअर्काको मन राखिदिनको निम्ति कहिले खर काट्ने निहुँ त कहिले सालका पात टिप्ने निहुँ गरेर यही तालको घना वनमा आउने गर्थे । त्यसरी एक अर्काका राग अनुरागहरूको मन राखिने ऐकान्तिक ठाउँ भएकोले यसलाई रखौना-रखौनी भन्न थालिएको हो !

हामी पुग्ने बेलामा भने हुस्सुको सेतो बर्को ओढेर पौषको जाडोमा निमग्न भएर सुतेको थियो रखौनारखौनी ताल । कुनै कोलाहल छैन यहाँ । चराचुरुङ्गीहरूको कल्याङ्मल्याङ् पनि छैन । तालको छेउमा एउटा घर देख्यौं तर मानवीय उपस्थिति देखिएन । ढोका, झ्यालहरू ह्वाङ्गै छन् । कुखुरा चरिरहेका छन् आँगनमा । मान्छेहरू कतै गएका होलान् । तालको चिसो पानीमा माछा र बकुल्लाहरूको लुकामारी भने निर्बाध चलेकै रहेछ । हाँस पनि पौडिदैछन् आफ्नै रहर छल्काउँदै ।

हामीले देख्यौं तालको वरिपरि घना वन छ । तालका दुई ओटा खण्ड छन् । उनै अज्ञात मनरख्ना र मनरख्नीहरूको अज्ञात प्रेमलाई सम्झेर यो ताललाई पनि दुईटा खण्ड बनेर रखौना र रखौनी भएको हो कि जस्तो लागिरह्यो ।

पूर्व प्रधानमन्त्री डा. केआई सिंहको गाउँ केआई सिंह फाँटा पनि यहाँबाट पूर्वतिर पर्छ । उहाँका छोरा हुन् भोगेन्द्रजीत । उनलाई मुन्ना भनेर पनि चिनिन्छ । आजभन्दा पाँच दशक अघि उनै मुन्ना र एकजना थारु समुदायकी रूपसी युवतिको प्रेमका मुना पनि यतै तालको छेउछाउमा कतै अङ्कुरित भएका थिए रे ! पछि उनीहरू ‘उर्राउर्री भ्वाज’ गरेर भारतको सिंगाहीतिर लागेका थिए । आजभन्दा त्यति पहिले गोत्र र जातमात्रै मिलाएर बिहे गरिने कट्टर समयमा भएको उनीहरूको त्यो प्रेम र विवाहको कथा अझैंसम्म त्यतातिर निकै स्मरण गरिदोरहेछ । थारु भाषामा भागेर गरिने प्रेमविवाहलाई ‘उर्राउर्री भ्वाज’ भनिन्छ । यो कथा मलाई उहिल्यै सुनाएका थिए मेरा मित्र विजयराज श्रेष्ठले । आज सम्झिएँ फेरि यहीं पुगेर उनै मुन्ना-मुन्नीको पुरानो प्रेमकथालाई । हामीले प्रेमका मिथक र उदाहरणहरु खोज्दै लैजा-मजनुँ र रोमियो-जुलियटका देशतिर कतै टाढाटाढा जानै पर्दैन । यहीं भेटिन्छन् अनेकौं अमर रखौना-रखौनीहरू ।

हसुलिया निवासी कवि तीलक बोहरा ‘समर्पण’ले पनि ‘दाजु म रखौना-रखौनी तालमा कुनै दिन एउटा साहित्यिक कार्यक्रम गर्छु गर्छु’ भनेर गरेको वाचा सम्झिंदै डुलिरहें म तालको डिलैडिल । हाम्रा आँखाले परपरका दृश्यहरूलाई राम्ररी ठम्याउन सकेनन् । ललित भाइले खिचेको सेल्फीमा पनि रखौना-रखौनीको पूर्ण चित्र समेटिन सकेन । सौन्दर्य भन्ने कुरा आँखाले हेरेको र मनले अनुभव गरेजत्तिको सुन्दर त चित्रमा कहाँ देखिन्छ र ? भन्दै सकुञ्जेल नेत्रपान गरिरहयौं हामीेले ।

मानिसहरू कैलालीका ताल भनेपछि घोडाघोडी तालको मात्रै चर्चा गर्छन् । महेन्द्र राजमार्गमा पर्ने भएकोले त्यहाँ मानिसको आवागमन बढी हुने गरेको छ । त्यही चहलपहलका कारणले घोडाघोडीको प्राकृतिक प्राञ्जलता निकै बिथोलिइसकेको छ । पिकनिक खानेहरूले गरेर जाने फोहोरले गर्दा निकै प्रदुषित भैसकेको छ घोडाघोडी । त्यसको अनुपातमा रखौना-रखौनी ताल सफा नै देखिन्छ । यहाँको खुला र ऐकान्तिक वातावरण मनमोहक छ । यो ठाउँ रमाइलो गर्ने नभएर ध्यान, योग र काव्य साधना गर्नेहरूको लागि निकै सुहाउँदो लाग्यो ।

‘कुनै दिन फेरि पनि आइने छ रखौना-रखौनीमा’ फर्किने बेलामा ललित केसीभाइले भनी हाले । उनको यो तालसँग जोडिएका कथाहरू उत्खनन गर्ने उत्सुकता कदाचित बाँकी नै रह्यो । मैले पनि थपिहालेँ — आउनुपर्ला फेरि पनि ।

रखौना-रखौनीबाट फर्केर फेरि हुलाकी सडक हुँदै पूर्व लाग्यौं । बाटोमा आयो वसन्ता गाउँ । वसन्ता गाउँकै कारणले यो वन पनि वसन्ताको वन भनेर चिनिएको हो । अचेल त यतातिर पातलोपातलो भैसकेको छ यो वन । उहिले निकै घना थियो रे । भारतीय सीमानादेखि नेपालको चुरे पहाडसम्म तन्किएको यो फराकिलो वन साँगुरिदै छ अचेल । नेपालको तराईमा चुरेको समानान्तर पूर्वदेखि पश्चिमसम्म तन्किएको घना वन चारकोश चाक्लो भएकोले त्यसलाई चारकोशे झाडी भनिन्थ्यो । तर यो वन पाँच कोश चाक्लो भएकोले यसलाई पचकोसवा पनि भनिन्छ । यो ठूलो जैविक मार्ग पनि हो । नेपाल र भारतका वन्य जीवजन्तु ओहोरदोहोर गरिहन्छन् । नागरिकहरू आ-आफ्नै देशको पहिचानमा बाँधिएका भए पनि बाघ-बघेनी, मृग-मृगिणी र चराचुरुङ्गीहरूको निर्बन्ध आवागमन र स्वच्छन्द प्रेमालापमा कुनै बाधा छैन । वन साँगुरिन थालेसँगै प्रकृतिको यो वन्य सभ्यता पनि बिस्तारै बिथोलिंदै छ ।

बाटोमा आयो रामपुर । यहाँबाट हाम्रो यात्रा दाहिने मोडियो । रामपुरबाट दक्षिण लागेपछि परपरसम्म फराकिला खेतबारी देखिए । आँखाले हेर्न भ्याएसम्म चारैतिर पहेंलो तोरीको साम्राज्य फिंजिएको छ । अलि पर पुसको हुस्सुमा डुबेको वन भारतको हो रे । अलि पर पुगेपछि बाटो देब्रेदेब्रे लाग्यो । गाउँ पनि उतै छुट्यो । बयरघारी र बञ्जर फाँटहरू आए । हामी निर्जन ठाउँमा कुदिरह्यौं । निकैबेर कुदे पछि अइपुग्यो मोहनको ढिक । खेतबारी बगाएर बचेको अन्तिम ढिस्कोलाई ढिक भनिन्छ यतातिर । यसलाई खेतको डिल भन्दा पनि हुन्छ । ढिकैनिर एउटा झुप्रो देखियो । भित्र बस्न मिल्ने काठका फल्याक ओछ्याइएका हुनाले यो प्रतिक्षालय नै होला पक्कै पनि । तल नदीको छेउमा डुङ्गा बाँधिएको छ । मान्छे कोही छैनन् । ‘पारिपट्टि देखिएको गाउँ नै हो हौसलपुर’ सागर भाइले देखाए औंला सोझ्याएर । गन्तव्यको नजिकै पुगेर पनि निकै टाढा भएजसरी त्यही प्रतीक्षालयमा बसेर कुर्न लाग्यौं डुङ्गा चलाउने मान्छेको आगमन ।

केही बेरमा दौडिंदै आए एकजना बूढो उमेरका मान्छे । कालुराम डँगौरा रहेछ उनको नाम । ‘अपनेन के आइटी कहिके महिन पटा होसेकल रहे’ (तपाईंहरू आउने कुरा मलाई थाह थियो) । डुङ्गामा तारि दिए मोहना नदी । पैसा लिन मानेनन् । ‘पहुँनन से पैंसा नैलेठी हजुर हम्रे ट’ (पाहुनाको पैसा लिन्नौं हजुर हामी त) भन्दै जति कर गर्दा पनि लिन मानेनन् ।

डुङ्गाबाट ओरालेर हामीलाई सोझै पुर्‍याए उनैले भलमन्सा टीकाराम चौधरीको आँगनमा ।

हामीले यो गाउँलाई पनि ठूलै छ भन्ने सोचेका थियौं तर २९ घरधुरी मात्रै रहेछन् । हौसलपुरसँगै जोडिएको भारतीय गाउँ बेलापर्सुवाले गर्दा परबाट हेर्दा ठूलो देखिएको रहेछ । वास्तवमा हौसलपुर त मोहनापारिको सानो टुक्रो नेपाली जमिनमा टुक्रुक्क टुहुरोजस्तै बसेको गाउँ रहेछ । दक्षिणबाट आएर उत्तर हुँदै पूर्वपट्टि बगेर जाने मोहना नदीले कतिखेर बगाउने हो थाह छैन ? अज्ञात भयलाई छातीभित्र लुकाएर बसेका छन् हौसलपुरवासीहरू ।

टीकारामको आँगनबाट उत्तर र पूर्वतिर सीमाका स्तम्भहरू देखिए । भारतीय गाउँ बेलापर्सुवा हौसलपुरबाट उत्तरतिर देखियो । भारत त नेपालको पूर्व, दक्षिण र पश्चिमतिर पर्छ भन्ने सुनेको हो । यहाँ त उत्तरतिर पनि भारतकै गाउँ देखियो । सायद नेपालको एउटा मात्र गाउँ यही होला जुन गाउँबाट उत्तरतिर पर्छ भारतको भूमि ।

हौसलपुरको सानो गाउँलाई उत्तरतिरबाट बेलापर्सुवा र पूर्व र पश्चिमतिरबाट भारतको वनले घेरेको छ । यहाँबाट बेलापर्सुवा जाने बाटोको माझैंमा धान रोप्ने सोतो जस्तो चिसाचिसोे खेत देखियो । यो त दुई देशको सीमारेखा बनेको दशगजा पो रहेछ । दशगजाको पारिपट्टि बेलापर्सुवाको आडैमा भारतले अग्लो पक्की बाटो बनाएको छ । ‘मोहनाले ल्याउने बाढी त्यही बाटोमा ठोक्किंदै यतै फर्केर पुरै गाउँ डुबाउँदा कतिखेर यहाँबाट भागौं जस्तो लाग्छ सर’ व्यथा पोख्न लागे भलमन्सा टीकाराम ।

यस्तो अनकन्टार सुनसान ठाउँमा आएर हाम्रा बाबुबाजेहरू केवल हौसलाकै भरमा बस्न सकेका त होलान् । उनले गाउँको नाम हौसलपुर रहनुको कारण पनि सुनाए । यो गाउँको नाम हौसलपुर रहनुको कारण पनि यही रहेछ । ‘हौसल भनेको थारु भाषामा कुनै काम गर्न तत्पर हुनु हो’ भन्दै हुनुहुन्छ मिट्वा छविलाल कोपिला ।

भारतबाट सरसामान ल्याएर घरमा राख्ने र मौका मिलाएर साइकिलमा बोकेर नेपाली गाउँतिर लगेर बेच्ने काम फस्टाएको रहेछ हौसलपुरमा । प्रहरी, प्रशासन र भन्सारको पहुँचबाट निकै टाढा रहेको हौसलपुर यही काममा मग्न छ । देशको कानुनले यस कामलाई गैरकानुनी माने पनि उनीहरूको लागि भने जीविकोपार्जनको माध्यम बनेको छ । रातीराती पो निकै चहलपहल हुँदो रहेछ हौसलपुरमा । गाउँमा घरभन्दा बढी मदिराका पसल छन् । मदिराका पसलमा टनाटन मदिराका बोतलहरू भरिएको देखेर आश्चर्य लाग्यो ।

‘यी सबै पसल भारतीयहरूकै भरमा चलेका छन्’ सुनाए कालुराम डगौंराले ।

साँझपख भलमन्सा टीकाराम चौधरीकी पत्नीले खाना पकाएर खुवाइन् । उनको माइती भारतको चन्दनचौकी रहेछ । सीमावर्ती भारतीय गाउँहरुमा पनि थारुहरूको बाक्लो वसोवास भएकोले दोहोरो बिहेवारी चल्दोरहेछ । नेपालमा त उनी रामपुर र वसन्ताभन्दा पर गएकी छैनन् रे । नेपाली र हिन्दी केही पनि बोल्न जान्दिनन् । थारु जातले उनको नाता जोडिएको रहेछ नेपालीसँग र हामीसँग कुराकानी हुन सक्यो थारु भाषाकै कारणले ।

राती सुत्यौं भलमन्साको घरमा । झ्यालबाट देखिइरह्यो रातभरि भारतीय भूमिमा बिजुलीबत्तीको झिलीमिली । उता अर्कोपट्टि भारतकै वनमा स्याल कराएको स्वर पनि आइरह्यो रातभरि । नेपाल—भारत सिमानाको यति नजिकै पुगेर म कहिल्यै सुतेको थिएनँ ।

बिहान सूर्योदय हुनुअघि नै उठ्यौं हामीहरू । पूर्वतिरको भारतीय वनको माथिबाट उदाएका सूर्यले मन्दमन्द उज्यारो छरे ।

हामीले गाउँलेसित संवाद गर्न खोज्यौं । तर बोल्ने कुरा सबै भलमन्साकै जिम्मा लगाएजसरी सबै मौन नै रहे । हामीसँग कोही पनि झ्याम्मिएनन् । हामीप्रति उनीहरूमा खासै उत्सुकता देखिएन । शिवरत्नपुर र मोहनपुरका वासिन्दाको जस्तो जागरूकता यो गाउँमा भेटिएन । भारतसित चल्ने व्यापारमैं डुबेर होला हौसलपुरेहरू एकोहोरिइसकेका रहेछन् । या हामीबाट कुनै प्रकारको अपेक्षा नभएर हो कि हामीसँग कुरा गर्ने जाँगर कसैले पनि नदेखाएको ।

आफ्नै हौसलाको भरोसाले बाँचिरहेका हौसलपुरेको हामीसँग कुनै आशा र अपेक्षा नभए पनि हाम्रो भने उनीहरूसँग ठूलो अपेक्षा छ । सबै कुरामा भारतकै भरमा बस्नुपरे पनि मोहनापारिको यो सानो टुक्रो नेपाली भूमिलाई उनीहरूले सुरक्षित पारेर त राखेका छन् । बर्दी लगाउने प्रहरीहरू कहिल्यै नपुग्ने यो ठाउँमा त्यसरी देशको सिमानाको रक्षा गरेर बसेका बिना बर्दीका प्रहरी नै हुन् यी हौसलपुरेहरू ।

मुखले धेरै कुरा गर्न नसके पनि आँखाआँखाले भने प्रशस्त संवाद भयो उनीहरूसँग ।

‘चलि सर डेर हुइटा’ (हिंड्नुहोस् सर ढिलो भयो) डुङ्गाचालक कालुराम डगौराले भनेपछि भलमन्सा टीकाराम चौधरीसँग बिदा लिएर हिंड्यौं हामीहरू । उनैले नदी तारिदिए । नाइँनाइँ भन्दाभन्दै पनि हामी पाँचसय रुपियाँ उनको हातमा राखिदियौं । ‘पहुँनन से पैंसा नैलेठी हजुर हम्रे ट’ (पाहुनाको पैसा लिन्नौं हजुर हामी त) भन्दै थिए उनी । हामी भने ‘जय गुर्वावा’ भन्दै बिदा लिएर हिंड्यौं त्यहाँबाट ।

मोहनाको ढिक पनि बिस्तारै ओझेल पर्दै गयो आँखाबाट । तर मनभरि नाचिरह्यो बिना बर्दीका प्रहरीहरूको गाउँ ‘हौसलपुर’ ……. ।