- अनिल करमेले
ऊ यस्तो भाषाको उपयोग गर्छ
हामी अक्सर
असमर्थ हुन पुग्छौँ
उसको नियतको पत्तो पाउन ।
हामी भरोसामा हुन्छौँ
र भरोसा बिस्तारैबिस्तारै भ्रममा बदलिन्छ
फाट्न थाल्छ दिमागको कुहिरो
निद्रा खुल्छ सपनाको अँगालोबाट
आँखा जल्न थाल्छन् अगाडिको तस्बिर देखेर ।
तर हाम्रा मुठ्ठीहरू कस्सिन्छन्
र वर्षौंदेखि जमेको रगत उम्लिन्छ
त्यसभन्दा पहिला
हामीमध्येकै कोही आउँछ
उसको बिचौलिया बनेर
भयानक तस्बिरमाथि पर्दा लाउँछ
र हाम्रो क्रोधमा भ्वाङ् पार्छ ।
आफ्नो लाभ र लोभको चक्रमा परेर
हामी भौतारिइहन्छौँ यतादेखि उता
र काँतरजस्तै
आफ्नो भाषाको शिष्टाचारमा
आउँछौँ फर्केर ।
…