राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध घोषणा हुँदै


हरेकपल February 6, 2023

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको घोषणा आज हुने भएको छ । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र प्रस्ताव दर्ता भएकोले आज प्रक्रिया पूरा गरेर घोषणा गरिने संसद सचिवालयले जनाएको छ ।

अर्याललाई सत्ता गठबन्धन दलहरु, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायतका दलहरूको समर्थन छ । प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ । प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिने छ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि २०७८ फागुन २० गतेदेखि उपाध्यक्ष पद रिक्त रहेको छ ।