- लक्ष्मी उप्रेती
।।१।।
एकैछिन विछोडिँदा पनि रुँदै बस्ने गर्छ्यौ
अनुभूतिको स्पर्शले जीवन छुँदै बस्ने गर्छ्यौ
मेरो मनको तरेलीमा तिमी छचल्किन्छ्यौ सदा
मेरो माया, मेरो छायाँ हुँदै बस्ने गर्छ्यौ ?
।।२।।
ढोंगी मानिस साधु हुन्छन् सन्त बनेर
कमण्डलु लुकाई हिँड्छन् जन्त गनेर
सच्चा सन्यास भेटिँदैन कलियुग छ व्याप्त
भोगीको हूलमा हिँड्छ जोगी अन्त भनेर ।
।।३।।
आमा शब्द नरित्तिने सौन्दर्यकी छायाँ
सुरक्षाको कवच अनि समर्पणकी माया
धरतीकी स्वरूप आमा प्रकृतिकी साज
जीवनमा झमझमाउने तरङ्गकी काया ।
।।४।।
दुई जातका प्राणीबाट संसार चल्ने रैछ
जगतको नियम जन्मेपछि मर्नुपर्ने रैछ
जिन्दगीको हिसाब मिलान गर्छ समयले
सास रोकिए सम्बोधनमा लास बन्ने रैछ ।
।।५।।
आफ्नो बाटो आफैँँ बनाई नदी बगे सरी
छेउ कुना खोतलेर छङछङ सङ्गीत भरी
जीवनको यात्रा पनि ठक्कर खाँदै बढ्छ
संसारमा सबले रच्छन् खेल अनेक थरी ।
…