काठमाडौँ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले पर्यटन बोर्डमा एक समारोहका बिच वरिष्ठ कलाकार किरण मानन्धरलाई ‘अमूल्य कलाश्री सम्मान’ र समालोचक प्राडा लक्ष्मण गौतमलाई १ लाख रुपैयाँ राशिको ‘कलाश्री पुरस्कार’ अर्पण गरेको छ ।
यसैगरी साहित्यकार भूपिनलाई ७५ हजार रुपैयाँ राशिको ‘स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’, ललित फोटोग्राफर जगदीश तिवारीलाई ६० हजार रुपैयाँ राशिको ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’, डा. टंक उप्रेतीलाई ५० हजार रुपैयाँ राशिको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ र गायिका मेलिना राईलाई ५० हजार रुपैयाँ राशिको ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार’ अर्पण गरेको छ।
वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा सम्मान ग्रहण गर्दै कलाकार किरण मानन्धरले आफूले पाएको सम्मान राष्ट्रका युवा कलाकारलाई समर्पण गर्न चाहेको बताए। उनले भने, ‘यो सम्मानले अझ अगाडि बढ्ने प्रेरणा दिएको छ ।’
यसैगरी ‘राष्ट्रिय कलाश्री पुरस्कार’ विजेता प्राडा लक्ष्मणप्रसाद गौतमले आफूले पाएको पुरस्कार समस्त समालोचना जगतले पाएको बताए। उनले साहित्यलाई साहित्यइतर क्षेत्रसम्म पुर्याएकोमा प्रतिष्ठानको प्रशंसा गरे।
मोमिलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वैरागी काइँला, संस्थाका संरक्षक विमल कोइरालाले पनि मन्तव्य प्रकट गरेका थिए भने समालोचक महेश पौड्यालले सम्मानित र पुरस्कृत स्रष्टाहरूको परिचय दिएका थिए।