काठमाडौं । इन्द–मोहन स्मृति गुठीले नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा एक समारोहका बिच यस वर्षको ‘श्रीओम–इन्द्रमोहन स्मृति गीत सङ्गीत पुरस्कार’ प्रसिद्ध गायक दीपक खरेललाई, ‘श्रीओम–इन्द्रमोहन पत्रकारिता पुरस्कार’ मोफसलमा क्रियाशील पत्रकार मोहन भण्डारीलाई र ‘डा. विमला श्रेष्ठ साहित्य पुरस्कार’ कवि डा. राजेन्द्र अधिकारीलाई समर्पण गर्यो । पुरस्कारका साथ नगद राशि पनि प्रदान गरिएको थियो ।
समारोहका प्रमुख अतिथि कवि वैरागी काइँलाले तीनै सर्जकहरूलाई पुरस्कार समर्पण गर्दै यस्ता पुरस्कारहरूले सर्जकहरूलाई निरन्तर सक्रिय रहिरहन उर्जा प्रदान गर्ने बताउनुभयो भने साहित्यकार प्रमोद प्रधानले पुरस्कृत स्रष्टाहरूको परिचय दिनुका साथै तिनको योगदानको चर्चा गर्नुभयो ।

सो समारोहमा कवि विवश पोखरेलको कवितासङ्ग्रह ‘जीवनलाई देख्नु भो ?’ को लोकार्पण पनि गरिएको थियो । लोकार्पित कृतिमाथि वैरागी काइँला र प्राडा. लक्ष्मणप्रसाद गौतमले चर्चा गर्नुभएको थियो ।
गुठीका प्रमुख संरक्षक डा. विमला श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा पुरस्कृत स्रष्टाहरूले आआफ्ना विचार व्यक्त गरेका थिए ।

दुईसय भन्दा बढी साहित्यकार, एवम् साहित्य र कलाप्रेमीको उपस्थिति रहेको समारोहमा गुठीका अध्यक्ष विवश पोखरेलले स्वागत मन्तव्य प्रकट गर्नुभयो भने कार्यक्रमको सहजीकरण कवि गोकुल अधिकारीले गर्नुभएको थियो ।
….. ।