- शेखर गिरि
मट्टीतेल सकिन आँटेको
सलेदो मात्र बलेको
टुकीको धिपधिपे झिनो प्रकाश ।
म बतासको एक झोक्काले निभाउन सक्ने
तर न निभेको सिसा फुटेको लालटिनभित्र
नाचिरहेको उज्यालो प्रकाश ।
घरा–धरती मेरो बिछ्यौना
छाना भएको छ आकाश
म सुतेकै छु कठ्याङ्ग्रिदा यो रातमा
ओढेर सिरेटो बतास ।
म धरती पुत्र उब्जाउँछु अन्न
त्यै पनि खान पुग्दैन अघाउँजी गाँस
खोई कता गयो वाचा ?
खोई हाम्रो वास–कपास ।
खोजिरहेछु खोई कता छ
कहिले ननिम्ने चेतनाको ज्योति
त्यो दिव्य प्रकाश !
कसो बिहानी न होना भनी कुरिबसेको छु
हेर्दै पूर्वतिरको खुला आकाश
त्यसैले छैन म हतप्रभ–हताश–निराश
म टुकीको धिपधिपे झिनो प्रकाश
म टुकीको प्रकाश ।
…