शिवपुरी साहित्य समाजको १५ औँ वार्षिकोत्सव सम्पन्न


हरेकपल March 13, 2023


काठमाडौँ । शिवपुरी साहित्य समाजले आफ्नो १५ औँ वार्षिकोत्सव २०७९ का अवसरमा एक समारोहका बीच ५ विभिन्न विधाका पुरस्कार तथा सम्मान ५ जना स्रष्टालाई अर्पण गरेको छ ।

कार्यक्रमका प्रमुख अथिति नगेन्द्रराज शर्माले नरबहादुर भारती स्रष्टा सम्मान २०७९ पवन आलोकलाई, शिवपुरी गजल सम्मान २०७९ मनोज न्यौपानेलाई, गौरी कार्की मुक्तक सम्मान २०७९ श्री हरिकृष्ण काफ्लेलाई, विष्णु–पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार २०७९ सूर्यप्रसाद लाकोजूलाई र मान शोभा प्रतिभा सम्मान खुमराज घिमिरेलाई अर्पण गर्नुभएको थियो।

शिवपुरी साहित्य समाजले प्रत्येक वर्ष काठमाडौंको उत्तरी भेगको रमणीय स्थलमा वार्षिकोत्सवको कार्यक्रम सम्पन्न गर्दै आएको छ । यस वर्ष यो कार्यक्रम टोखा नगरपालिका वडा नं १ झोरमा सम्पन्न भएको थियो । नेपाली मौलिक खाजा गुन्द्रुक–मकै–भटमास–ढिँडोका साथमा सम्पन्न भएको यस कार्यक्रममा रामकाजी कोने, प्रकाश घायल, गोकुल अधिकारी, प्रोल्लास सिन्धुलीय, राबत, प्रज्ज्वल अधिकारी लगायतका दर्जनौँ कविले कविता वाचन गर्नुभएको थियो ।

समाजका अध्यक्ष विष्णुबहादुर सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संरक्षक वियोगी बुढाथोकीले स्वागत भाषण र समाजका उपाध्यक्ष शङ्कर भारतीले धन्यवाद ज्ञापन र वाचित कवितामाथि प्राडा श्री गोविन्दमान सिंह कार्कीले टिप्पणी गर्नुभएको थियो ।

उक्त समारोहको सहजीकरण गजलकार बाबु त्रिपाठी र एच. के. धितालले गर्नुभएको थियो ।