चलचित्र कलाकार संघको अध्यक्ष पदका उम्मेदवार मोहन निरौलाले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । अध्यक्ष पदकी अर्की उम्मेदवार रेजिना उप्रेतीले बुधबार प्यानल घोषणा गरेकी थिइन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले थुप्रै एजेण्डासहित प्यानल सार्वजनिक गरेका हुन् । निरौला वर्तमान कार्यसमितिमा उपाध्यक्ष तथा प्रवक्ता समेत हुन् ।
निरौलाको प्यानलमा उपाध्यक्षमा धनबहादुर बम्जन र कविता गेलाल, महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी रहेका छन् । त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सह–कोषाध्यक्षमा पवित्रा आचार्य रहेका छन् । सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।
निरौला प्यानलमा सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा रहेका छन् ।
कार्यक्रममा चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, अभिनेता शिव श्रेष्ठ, प्रथम अभिनेत्री भुवन चन्द, चैत्रदेवी, हास्य अभिनेत्री वसुन्धरा भुसाल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, प्रदेश सांसद मधुकुमार श्रेष्ठ, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायत थुप्रै व्यक्तिले निरौलालाई जितका लागि शुभकामना दिए ।