क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने


हरेकपल March 17, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् । म तपाईंहरूको सुखदुःखमा साथमै हुनेछु‚’ प्रधानमन्त्री दाहालले भने, ‘यसअघि पनि सरकारले तपाईंहरूलाई जनही २ लाख राशीले पुरस्कृत गरिसकिएको छ । आज म तपाईंहरूलाई जनही ३ लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’

हिजो भएको विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाली टोली विश्वकप क्वालिफायरमा प्रवेश गरेको हो। अब नेपाल जिम्मबाब्बेमा हुने विश्वकप छनोट खेल्ने छ। १० टिम सहभागी टोलीमा दुई समूहका शीर्ष २ टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।