धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने


हरेकपल March 19, 2023

धनगढीमा चैत्र दोस्रो साता हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा चैत्र १० गतेदेखि १३ गतेसम्म चार दिन सम्मेलन हुने छ ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जानकारी दिएका छन् ।

समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिनेछ । अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशिको बद्रि–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ ।

सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा अमेरिका पनि सहभागी हुनेछन् ।

सम्मेलन आयोजनाका लागि मूल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमिति गठन भएका छन् । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको अध्यक्ष पाण्डेयले बताए । सम्मेलनमा सञ्चालन गरिने अन्तरसंवाद सत्रहरूको टुंगो लगाउने काम भइरहेको बताए ।

यस्तै कार्यक्रम मूल आयोजक समितिका संयोजक वरिष्ठ लोक गायक यज्ञराज उपाध्ययले धनगढीलाई बौद्धिक बहसको नगरिका रूपमा स्थापित गर्न यो कार्यक्रमको आयोजना गरिने बताए ।

‘यसले उहाँको भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वव्यापी गर्न सहयोग पुर्‍याउने हाम्रो विश्वास छ । हामीले हाम्रा अतिथिहरूलाई यहाँका विशेष पहिचान बोकेका झाकि र कला, संस्कृति देखाउने छौं । यसले हाम्रो संस्कृतिलाई विश्वभर छरिएर रहेका नेपालीभाषी साहित्यकारहरूले बुझ्ने अवसर पाउनुहुनेछ,’ उनले भने ।

उनले प्यानल डिस्कसनमा कला, संस्कृति, राजनीतिक परिवेशलगायत थुप्रै विषयमा प्यानल डिस्कसन पनि हुने बताएका छन् ।

सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साहित्य समाजले यसअघि धनगढीमा ०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र ०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।