भक्तपुरका एक सय १५ जना जेष्ठ नागरिक सोमबार एक भव्य समारोहबीच सम्मानित भएका छन् । सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरले संस्थामा सदस्य रहेका एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
संस्थाको तर्फबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् । संस्थाले प्रत्येक वर्ष संस्थाका सदस्य ७० वर्ष नाघेका वृद्धवृद्धालाई वर्षमा एकपटक यसरी नै सम्मान गर्दै आएको जनाएको छ ।
कार्यक्रममा जनाइए अनुसार संस्थाले २०६९ सालबाट जेष्ठ नागरिक सम्मान कार्यक्रम थालेको थियो । वर्षमा एकपटक गरी गतवर्षसम्म ६ सय ७१ जेष्ठ नागरिकलाई सम्मान गरिसकेको कार्यक्रममा जनाइयो ।
तीमध्ये स्वास्थ्यलगायतको विविध कारण ३५ जना जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी हुन नसकेको कार्यक्रममा बताइयो । सोमबार थप एक सय १५ जना सदस्य जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।