विराटनगर। ‘कमला राजबहादुर कुँवर सामाजिक सेवा गुठी’ले विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई २०७९ सालका पुरस्कारहरू प्रदान गर्ने निर्णय गरेको छ।
गुठीद्वारा जारी विज्ञप्तिका अनुसार रु. २५,०००।– (रु. पच्चीसहजार ) राशिको ‘कमला राजबहादुर कुँवर साहित्य पुरस्कार‘ साहित्यकार इन्द्र कुमार श्रेष्ठ ‘सरित’लाई, रु.१५,०००।- (रु. पन्ध्र हजार) राशिको ‘कमला राजबहादुर कुँवर शिक्षासेवा पुरस्कार‘ शिक्षासेवी सर्वाणी भट्टाचार्यलाई, रु.११,०००।- (रु. एघार हजार) राशिको ‘कमला राजबहादुर कुँवर खेलकुद पुरस्कार‘ अन्तराष्ट्रिय प्रशिक्षक बिकेन थापालाई, रु.११,०००।- (रु. एघार हजार) राशिको ‘कमला राजबहादुर कुँवर शिक्षा पुरस्कार‘ डा. अनुपम कोइरालालाई र रु.११,०००।- (रु. एघार हजार) राशिको ‘कमला राजबहादुर कुँवर साहित्य पुरस्कार ‘ साहित्यकार श्री हरिप्रसाद बराललाई प्रदान गरिने छ ।
गुठीका अध्यक्ष दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’को अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका तथा अरनिको विद्यालयमा लामो समयसम्म सेवा प्रदान गर्ने र सोही विद्यालयमा अध्ययन गरेर उच्च शिक्षा हासिल गर्ने क्रममा स्वर्ण पदक प्राप्त गरेका छात्र र छात्रालाई पुरस्कृत तथा सम्मानित गर्ने परम्पराअनुसार यो वर्ष पनि सो कार्यलाई निरन्तरता दिइएको हो ।
गुठीका सचिव खगेन्द्र लामिछानेले जानकारी दिएअनुसार पुरस्कार वितरण कार्यक्रम यही वैशाख १५ गते शुक्रबार एक समारोहका बीच सम्पन्न गरिने छ।
‘कमला राजबहादुर कुँवर सामाजिक सेवा गुठी’ नेपालमा शिक्षाको विकासका क्षेत्रमा लामो समयसम्म विद्यालय संचालन र व्यवस्थापन गर्दै हजारौं कर्मठ नागरिक उत्पादन गर्ने विराटनगरको अरनिको बोर्डिङ्ग स्कूलका राजबहादुर कुँवर र कमला कुवँरको सम्मानमा स्थापना गरिएको हो ।
…