गत वर्ष वैदेशिक अध्ययनका लागि सवा लाखले लिए एनओसी, अस्ट्रेलियाका लागि मात्रै ५० हजार


हरेकपल April 19, 2023

गत वर्ष मात्रै वैदेशिक अध्ययनका लागि १ लाख १७ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । विभिन्न ७२ देशमा अध्ययन गर्न जान १ लाख १७ हजार ५६३ जनाले एनओसी लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जनाएको छ ।

विद्यार्थीले विभिन्न ५६ वटा शैक्षिक कार्यक्रमको लागि एनओसी लिएका हुन् । सबैभन्दा बढी अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । गत वर्ष अस्ट्रेलियाका लागि मात्रै ५० हजार ७४२ जनाले एनओसी लिएका हुन् ।

जापानका लागि २० हजार ३ जनाले, क्यानडाका लागि १६ हजार ७१६ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । त्यस्तै संयुक्त अधिराज्य बेलायतका लागि ८ हजार ७०७ जनाले, अमेरिकाको लागि ५ हजार ८२ जनाले, दक्षिण कोरियाका लागि दुई हजार २२५ जनाले एनओसी लिएका छन् ।

विदेश जाने अनुमति पत्र लिनेहरुबाट सरकारले २७ करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको छ ।

यसवर्ष १७ हजार ७७५ वटा पुरानो एनओसी रद्द भएको शाखाले जनाएको छ । विद्यार्थीले नयाँ एनओसी लिँदा पुरानो रद्द गर्नुपर्छ ।