निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने


हरेकपल April 20, 2023

कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले संस्थागत विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको बताए ।

‘हामीले निजी विद्यालयलाई गत वर्षकै शुल्क र पाठ्पुस्तकलाई निरन्तरता दिने गरी निर्णय गरेका छौँ,’ उनले भने, ‘शुल्क वृद्धि गर्नुपर्ने अवस्थामा प्रस्ताव तयार गरी नगरपालिकाबाट स्वीकृत लिन भनेका छौँ ।’

उनले यसै शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० बाहेकका कक्षाका पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने बताए । संस्थागत विद्यालहरूले हरेक शैक्षिक सत्रमा शुल्क वृद्धि गर्ने र पाठ्यपुस्तक परिवर्तन गर्नेलगायत गतिविधि गर्न थालेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने बाध्यात्मक अवस्था आए नगरपालिकाबाट पूर्वस्वीकृति लिन नगरभित्रका संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ ।