सिद्धार्थ वनस्थली इन्स्टिच्युटको स्वर्ण महोत्सवको शुभारम्भ


हरेकपल May 7, 2023

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले एक समारोहका बिच पानसमा दीप प्रज्ज्वलन तथा इन्स्टिच्युटको झन्डोत्तोलन गरी सिद्धार्थ वनस्थली इन्स्टिच्युटको स्वर्ण महोत्सवको शुभारम्भ गर्नुभयो ।

समारोहमा प्रमुख अतिथि सुवेदीले सिद्धार्थ वनस्थली इन्स्टिच्युटलाई यो स्थितिमा ल्याइपुऱ्याउन इन्स्टिच्युटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको महत्त्वपूर्ण योगदान र भूमिका रहेको बताउनुभयो। आफूले निजामती सेवामा प्रवेश गर्नुअघि आठनौ वर्ष यसै विद्यालयमा अध्यापन गरेको र राजवंशीकै प्रेरणाले अघि बढ्न प्रोत्साहित भएको चर्चा गर्दै उहाँले सिद्धार्थ वनस्थली इन्स्टिच्युटले राष्ट्र विकासमा गरेको उल्लेखनीय योगदानमाथि प्रकाश पार्नुभएको थियो ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख सीताराम कोइराला, चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतम, करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतम, इन्स्टिच्युटका पूर्व विद्यार्थी तथा सिद्धार्थ वनस्थली इन्स्टिच्युट एलुम्नाइ एसोसिएसनका अध्यक्ष राजेश रौनियारलगायतले इन्स्टिच्युटले दक्ष जनशक्ति उत्पादनमा निर्वाह गरेको भूमिकाबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

इन्स्टिच्युटका शिक्षक राजु दवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण सुवेदीले चीन अध्ययन केन्द्रद्वारा नेपाली र चिनियाँ भाषामा प्रकाशित सचित्र बालसाहित्य पुस्तक मिलीजुली एउटा सुखमयी जन्मभूमिको निर्माण (नेपाल)’ को लोकार्पण गर्नुभएको थियो।

समारोहका सभापति एवम् इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले इन्स्टिच्युटको स्वर्ण महोत्सवको शुभारम्भ भएको र यो वर्षभरि विभिन्न कार्यक्रमहरूको आयोजना गरी महोत्सवलाई भव्यता प्रदान गरिने बताउनुभयो।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका पूर्व विद्यार्थी तथा साहित्यकार यादव भट्टराईले पचास वर्षको अवधिमा इन्स्टिच्युटले थुप्रै आरोह–अवरोहका बिच हजारौँ सक्षम विद्यार्थी उत्पादन गरेको र ती विद्यार्थीहरूले स्वदेश र विदेशमा रहेर विद्यालयको शिर उँचो बनाइराख्न महत्त्वपूर्ण योगदान गरिरहेको यथार्थलाई औंल्याउँदै इन्स्टिच्युटका संस्थापक प्राचार्य तथा साहित्यकार लक्ष्मण राजवंशीको योगदानको स्मरण गर्नुभयो।

सिद्धार्थ वनस्थली इन्स्टिच्युट एलुम्नाइ एसोसिएसनका अध्यक्ष राजेश रौनियारले विद्यालयको स्वर्ण महोत्सव कार्यक्रमलाई सफल बनाउन सिद्धार्थ वनस्थली इन्स्टिच्युट एलुम्नाइ एसोसिएसन प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा गत वार्षिक परीक्षाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको थियो।

कार्यक्रममा पूर्व विद्यार्थीहरू जयदेवकृष्णश्रेष्ठ, अरुणप्रकाश श्रेष्ठलगायत विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालयमा कार्यरत शिक्षक शिक्षिका तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

 वि. सं. २००८ मा स्थापित वनस्थली विद्याश्रम, बालाजुसँग २०३० सालमा सिद्धार्थ इङ्लिस स्कुल, कमलपोखरी गाभिएर लक्ष्मण राजवंशी संस्थापक प्राचार्य रहनुभई सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयको स्थापना भएको र पछि लक्ष्मण राजवंशीकै पहलमा सिद्धार्थ वनस्थली इन्स्टिच्युट नाउँ रहन गएको हो।