कवि लालगोपाल सुवेदीको गीतिनाटक ‘राहुल-यशोधरा संवाद’ लोकार्पित


हरेकपल May 9, 2023

बोस्टन, अमेरिका – वरिष्ठ साहित्यकार तुलसी दिवसले बुद्ध जयन्तीको अवसरमा अमेरिकाको बोस्टन सहरमा कवि लालगोपाल सुवेदीको गीति नाटक ‘राहुल-यशोधरा संवाद’को लोकार्पण गर्नुभयो ।

समारोहमा लोकार्पित कृतिमाथि प्रकाश पार्दै दिवसले मिथक र इतिहासमा लुकेका तथ्यलाई वर्तमान समयका जल्दाबल्दा समस्यासँग सन्दर्भित गरी मार्मिक र जीवन्त बनाएर प्रस्तुत गर्ने सामर्थ्य लालगोपालजस्ता कविमा पाइने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘बालअधिकार, पूर्वीय नारीवाद र समाजिक समस्यालाई जनलयमा प्रस्तुत गरिएको ‘राहुल- यशोधरा संवाद’को महत्त्व नेपाली साहित्य जगतमा विशिष्ट रहनेछ ।’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाले कवि सुवेदीले अन्तर्मनबाटै उत्प्रेरित भई सिर्जना गरेको यस कृतिको वैशिष्ट्य उच्च रहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘डायस्पोरा जगतका स्रष्टाहरूले सुवेदीको लेखनीबाट प्रेरणा लिई साहित्यकर्ममा जाँगर चलाउनुपर्दछ र इतिहासमा लुकेका तथ्यलाई साहित्यमार्फत प्रकाशमा ल्याउनुपर्दछ ।’

समारोहमा अतिथि वक्ता अनेसास बोस्टनका पूर्व अध्यक्ष कवि हरिप्रसाद काफ्ले ‘शैव’ले कृतिका जम्मा तीसवटा लामा छोटा गीतले बुद्ध दर्शन र हाम्रो पूर्वीय ज्ञान गौरवलाई आजको समसामयिकतासँग जोडेर प्रस्तुत गर्नसक्नु गागरमा सागर भर्नुजस्तै कठिन कार्य भएको बताउनुभयो ।

अनेसास बोस्टनका अध्यक्ष महेश्वर पन्तले राहुल–यशोधरा संवाद गीतिनाटक कृतिभित्रका केही गीति पंक्तिहरू सस्वर वाचन गर्दै यस कृतिले सिंगो नेपाली साहित्यमै उच्च सम्मान पाउने धारणा व्यक्त गर्नुभयो ।

समारोहमा आफ्नो कृतिको बारेमा प्रकाश पार्दै कृतिकार लालगोपाल सुवेदीले बुद्धजीवनीका आधा दर्जन पुस्तक, जातक कथा, रवीन्द्रनाथ टेगोर र हिन्दी साहित्यका बौद्धदर्शनसम्बन्धी कृति र विपश्यना ध्यानबाट समेत प्रेरित भई कृतिको रचना गरिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘मैले यस कृतिमा इतिहास र मिथकको कङ्कालमा वर्तमान नेपालका जल्दाबल्दा समस्यालाई नाटकीय विशेषतासहित लोकलयको सरलता र लालित्यमय निजी मौलिकतामा उतार्ने प्रयत्न गरेको छु ।’

समारोहमा साहित्यकार यम पौडेल, मिलन गुरुङ, ममता कर्माचार्य, अनु शाह, प्रतीक रावल, प्रकाश खड्का लगायतले पनि मन्तव्य प्रकट गर्नुभएको थियो ।

समारोह अनेसास बोस्टनका उपाध्यक्ष विजय शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
०००