काठमाडौं । वनिता साहित्यिक पत्रिकाले वि.सं. २०८० र वि.सं. २०८१ सालका विभिन्न क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई प्रदान गरिने पुरस्कारहरूको घोषणा गरेको छ । पत्रिकाले प्रकाशित गरेको विज्ञप्तिका अनुसार साहित्य, सङ्गीत, रङ्गमञ्च र सञ्चार क्षेत्रमा योगदान गर्ने स्रष्टाहरूलाई एक समारोहका बीच सम्मानित तथा पुरस्कृत गरिने छ ।
सम्मानित हुनुहुने स्रष्टाहरूमा ‘वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल अभिनन्दन’बाट प्रा.डा. अभि सुवेदी, ‘देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार(२०८० बाट बालसाहित्यकार शाश्वत पराजुली, २०८१ सालको उक्त पुरस्कारबाट बालसाहित्यकार छाँयादत्त नेउपाने हुनुहुन्छ । यस्तै ‘वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती पुरस्कार(२०८०)’बाट समालोचक प्रा.डा.सावित्री मल्ल कक्षपती, २०८१ सालको उक्त पुरस्कारबाट समालोचक फणिन्द्रराज निरौलालाई पुरस्कृत गरिने भएको छ ।
यस्तै ‘वनिताश्री देवकुमारी थापा कथा विशिष्ट पुरस्कार(२०८०)’बाट कथाकार किशोर पहाडी, २०८१ सालको उक्त पुरस्कारबाट कथाकार सुष्मिता नेपाललाई पुरस्कृत गरिने भएको छ ।
यसै गरी ‘व्यथित काव्य वनिताश्री पुरस्कार(२०८०)’बाट कवि नरेद्रबहादुर श्रेष्ठ र २०८१ सालको उक्त पुरस्कारबाट कवि ठाकुर बेलवासेलाई पुरस्कृत गरिने भएको छ ।
यस्तै ‘रन्जुश्री दामोदर यात्रा वनिता पुरस्कार(२०८०)’बाट नियात्राकार युवराज नयाँघरे र २०८१ सालको उक्त पुरस्कारबाट नियात्राकार प्रतीक ढकाललाई पुरस्कृत गरिने भएको छ । यस्तै ‘वनिताश्री उन्नती बोहरा शीला गीतसंगीत पुरस्कार (२०८० र २०८१) सालको पुरस्कार संगीतकार-गायक राज सिग्देल र गायिका राधिका भण्डारीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
यसै गरी ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार(२०८०)’बाट संगीतकार मन्जु नकर्मी र २०८१ सालको उक्त पुरस्कारबाट बालसाहित्यकार रश्मी रिमाललाई पुरस्कृत गरिने भएको छ । यस्तै ‘वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार( २०८०)’ साहित्यकार हरि बराल र २०८१ सालको उक्त पुरस्कार अनुवादक राजेन्द्र गुरागाईलाई प्रदान गरिने भएको छ ।
‘वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार’ ह्याप्पी किड्स मन्टेश्वरीका स्कुलका साना नानीहरूलाई प्रदान गरिने छ ।
यी पुरस्कारहरु उपयुक्त समय पारेर एक समारोहका बीच प्रदान गरिने वनिता पत्रिकाकी प्रकाशक एवं सम्पादक साहित्यकार लक्ष्मी उप्रेतीले विज्ञप्ति मार्फत बताउनुभएको छ ।