नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह


हरेकपल May 25, 2023

सुभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने काममा लाग्न आग्रह गरेका छन् ।

इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै सभामुख घिमिरेले कला र संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान गरेका छन् ।

विश्वका प्रतिभाहरुलाई जम्मा गरेर गायन र नृत्य प्रतियोगिता आयोजना गरेकामा उनले उक्त फाउण्डेसनको प्रशंसा पनि गरे । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामु चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेसनलाई उनले सुझाब पनि दिए ।

विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये अन्तिमतर्फको छनोटमा परेका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गरिरहेका छन् ।