वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल लिखित उपन्यास ‘कालपात्र’ लोकार्पण


हरेकपल May 31, 2023

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल लिखित उपन्यास ‘कालपात्र’ एक विशेष समारोहबीच उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकार्पण गर्नुभयो।

कृति लोकार्पण गर्दै श्रेष्ठले मानिसहरू आफ्नो स्वार्थका लागि राज्यद्रोह गर्नसम्म पुगेको समयमा नेपाली समाजलाई रूपान्तरण गर्नपर्ने बोधको सङ्कल्पले यो उपन्यास जन्मिएको र यो कृति हामीमा सकारात्मक आशा रोपण गर्न सफल रहेको बताउनुभयो ।

उपन्यासकार दाहालले राजनीति, प्रशासन, न्यायालय, पत्रकारिता आदि सबै क्षेत्रमा व्याप्त विकृतिको चर्चा गर्दै यस्तो अवस्थामा पनि हामी सबैभित्र असल मान्छे छ र त्यसलाई जगायौँ भने विकृतिको अत्य हुन्छ भन्ने ध्येयले आफूले उपन्यास लेखेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘जसले देश बनाउँछु भन्छ, संस्था बनाउँछु भन्छ, समाज बनाउँछु भन्छ, ती सबैका लागि यो उपन्यास लेखिएको हो ।’

पूर्व सांसद शोभाकर पराजुलीले कृतिमा अभिव्यक्त मानवतावादी चेतको चर्चा गर्दै हाम्रो समाजका भएका छद्मभेषी, कृतिम र मखुण्डोधारी मानिसहरूको यस उपन्यासले पर्दाफास गरेको र यो नपढ्नेलाई पश्त्ताताप हुने बताउनुभयो ।

उपन्यासको समीक्षा गर्ने क्रममा समीक्षक ज्ञानु अधिकारीले पुरुषोत्तम दाहालको राजनैतिक, पत्रकारिता, साहित्यिक एवम् दार्शनिक व्यक्तित्व पात्रका माध्यमबाट आख्यानात्मक रूपमा उपन्यासमा प्रस्तुत भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘धर्म छाडेको, दुर्गन्ध फैलाएको, बाटो बिराएको राजनीतिको चित्र यस उपन्यासमा छ ।’ लेखकले जरासम्मै पुगेर कारण खोजेर उपन्यास लेख्नुलाई उहाँले कृतिको वैशिट्यका रूपमा व्याख्या गर्नुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले आजको नेपालको यथार्थ चित्र उपन्यासमा भेटिने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘जन्मने, मर्ने र फेरि जन्मने पौरस्त्य दर्शनमा आधारित उपन्यासका रुपमा ‘कालपात्र’लाई लिन सकिन्छ ।’

घाटबाट सुरु हुने र घाटमै अन्त्य हुने यो उपन्यास लेखकको प्रकाशित कृतिका हिसाबले बाह्रौं कृति हो भने उपन्यास विधाका दृष्टिले दोस्रो उपन्यास हो । यसअघि उहाँको ‘शान्ता’ उपन्यास बजारमा आइसकेको छ । यसको अङ्ग्रेजी अनुवाद पनि बजारमा उपलब्ध छ ।
==