काठमाडौँ। जनकवि केशरी ‘धर्मराज–सावित्री थापा प्रतिष्ठान’ले वर्ष २०७९ को ‘धर्मराज-सावित्री थापा लोक संस्कृति साहित्य पुरस्कार’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई र ‘धर्मराज–सावित्री थापा लोक गीतसङ्गीत पुरस्कार’ लोकगायक बमबहादुर कार्की र शिवा आले कार्कीलाई संयुक्तरूपमा प्रदान गर्ने घोषणा गरेको छ ।
नेपाली लोकसंस्कृति तथा साहित्यको श्रीवृद्धिमा मनसा, वाचा, कर्मणा निरन्तर समर्पित भई विभिन्न माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष योगदान गरेबापत संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।
त्यस्तै नेपाली लोकगीत सङ्गीतको श्रीवृद्धिमा विगत ४० वर्षदेखि निरन्तर समर्पित भई राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय क्षेत्रमा विभिन्न माध्यमबाट विशेष योगदान गरेबापत लोकगायक बमबहादुर कार्की र शिवा आले कार्कीलाई संयुक्तरूपमा पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष मदनराज थापाका अनुसार जनकविकेशरीको जन्मजयन्तीको सन्दर्भ पारेर साउन १ पुरस्कार अर्पण गरिने छ ।
विसं २०५२ मा स्थापित यस प्रतिष्ठानले विसं २०७१ सम्म धर्मराज–सावित्री थापा लोक वाङ्गमय पुरस्कार प्रदान गर्ने गर्दथ्यो । त्यसपछिका वर्षहरूमा लोक संस्कृति साहित्य र सङ्गीत गरी दुई विधामा पुरस्कार प्रदान गर्न थालेको हो ।
विसं १९८१ मा जन्मिनुभएका जनकवि थापाको विसं २०७१ मा निधन भएको थियो ।
००००