काठमाडौँ । ‘शिवपुरी सन्देश’ साहित्यिक पत्रिकाको शताङ्क र साहित्यकार वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ नियात्रा राजधानीमा एक समारोहका बीच लोकार्पित भएको छ ।
समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले यी दुवै पुस्तकको लोकार्पण गर्नुभयो । यस क्रममा उहाँले वियोगी बुढाथोकी अरूलाई उत्प्रेरित गर्ने, अत्यन्त सहयोगी व्यक्तित्व भएको बताउनुभयो । लोकार्पित कृतिको महत्त्वलाई दर्शाउँदै उहाँले भन्नुभयो, ‘बुझाइलाई सङ्ग्रहीत गर्नै कुरा महत्तवपूर्ण हुन्छ । आज लोकार्पित कृतिमार्फत वियोगी दाइले आफूले जानेका, देखेका, सिकेका कुरालाई अरूलाई पनि हस्तान्तरण गर्ने प्रयास गर्नुभएको छ ।’
समारोहमा शिवपुरी सन्देशको १००औ अङ्क ‘नियात्रा विशेषाङ्क’को समीक्षा गर्दै समालोचक युवराज मैनालीले शिवपुरी सन्देशका नियात्राहरूले धेरै ठाउँको भ्रमण गराउने बताउनुभयो भने समालोचक अनुपमा रेग्मीले नियात्रा कृतिभित्र लेखकले राजनीति भित्रका विकृतिलाई उठाएको र हाम्रो देशमा केके सम्भावना छन् भन्ने औल्याएको बताउनुभयो ।
समारोहमा शिवपुरी सन्देशका संरक्षक र लोकार्पित नियात्राका नियात्राकार वियोगी बुढाथोकीले आफ्नो पहिलो प्रेम कविता भएको र त्यसपछि गजल, मुक्तक हुँदै अहिले नियात्रासँग प्रेममा परेको बताउनुभयो । उहाँले सुरुमा शिवपुरी सन्देश पत्रिकाको सम्पादक हुने रहर नहुँदा नहुँदै पनि केही अङ्क सम्पादन गर्ने कार्यमा सहयोग गर्ने वचन दिएको प्रसङ्गको स्मरण गर्नुभयो । उहाँले केही अङ्क प्रकाशन गर्ने सोच अहिले शताङ्क सम्म आइपुगेकोमा खुसी व्यक्त गर्नुभयो ।
शिवपुरी सन्देशका सम्पादक विष्णुवहादुर सिंहको सभापतित्वमा सम्पन्न समारोहमा साहित्यकार शंकर भारतीले धन्यवाद ज्ञापन र साहित्यकार दीपक लोहनीले सहजीकरण गर्नुभएको थियो ।
….