मासिकस्राव


हरेकपल July 29, 2023

  • कृसु क्षेत्री

तिम्रो ‘रजस्वला’ हो यो
हैन पर सरेको
वा नछुने भएको ।

रजोवती हुनु सृष्टिको ढोका खुल्नु हो
सौन्दर्य हो तिम्रो रजोदर्शन !
यो बेला तिमी –
उदाउँदै गरेको मधुरो घाम हौ
आकाशभरि लाली पोतिएकी !
अहिले तिमी –
पूर्णिमाको जून हौ
धरतीभरि शीत पोखिएकी !

पछ्यौरीले
जबरजस्ती नढाक तिम्रा कोमल अङ्ग
म आँखैमा सजाउन चाहन्छु ।
कुनै बहानामा
छाउपढी वा गोठ नसर
म मनमन्दिरमा बसाउन चाहन्छु ।
मलाई नरोक
रङ फुङ्ग उडेकी लालीगुराँस तिमीलाई
म मायाको रङले ओतप्रोत गर्न चाहन्छु ।

आऊ माया गरौँ
तोडेर सारा भ्रमहरू
अक्षत कुमारीको अविस्मरणीय सुहागरात झैँ ।

तिम्रो ‘रजोदर्शन’ हो यो
हैन पर सरेको
वा नछुने भएको
यो त उत्सव हो सृष्टिसौन्दर्यको ।
०००