सुहागरात


हरेकपल July 29, 2023

  • स्वप्निल नीरव

म पनि
प्रेम गर्थें
अगाध
असीम
र अनन्त ।

मैले कहिल्यै प्रेमको गन्तव्य तोकिनँ
मेरो प्रेम
यहीँसम्म पुगेर
टुङ्गिन्छ भनेर अडकल लगाइनँ ।

अनु !
तिमी भन्थ्यौ–
प्रेमको अन्तिम गन्तव्य–
विवाह हो
तर तिम्रो अड्कल गलत भो’
हाम्रो प्रेमको गन्तव्य
विवाहमा पुगेर टुङगिएन ।

निश्चिन्त
विवाह भयो
बिहे भनेको त
झकिझकाउ शृङ्गार रहेछ
भयङ्कर लेनदेन रहेछ ।

बिहेपछिको प्रथम रात
अर्थात्
सबैले बुझेको सुहागरात
बुझेको नभनुँ
सुनेको सुहागरात
मैले पनि
यस्तै एउटा
सुहागरात भोगेँ ।

सुहागरात भनेको
मनसँगको प्रेम होइन रहेछ
यो रातमा
माया कम
वासना ज्यादा
हुँदो रहेछ ।

अनु !
सुहागरातले
प्रसस्त पीडा दियो
निको नहुने चोट दियो
तिमी नै भन, अनु !
सुहागरातले दिएको चोट
के म भुल्न सकुँला र ?