काठमाडौं । साहित्यकार आचार्य पीपलमणि सिग्देलको नवीनतम कृति ‘विचारपुञ्ज’को लोकार्पण निरन्तर शनिबारको आयोजनामा एक समारोहका बीच सुसम्पन्न भयो । कृृतिको लोकार्पण साहित्यकार तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, साहित्यकार प्रा. पुरुषोत्तम दाहाल, प्रा.डा. भागवत ढकाल लगायतले गर्नुभएको थियो ।
समारोहमा कृतिमाथि प्रकाश पार्दै महामन्त्री विश्वप्रकाश शर्माले पीपलमणि सिग्देलले अमेरिका जाँदा पनि साहित्यमार्फत नेपाललाई जोड्ने महत्त्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘राजनीतिले आजको लागि बचाउँछ भने किताबले भविष्यसम्मका लागि जीवित राख्न मदत गर्दछ ।’
समारोहका प्रमुख अतिथि पुरुषोत्तम दाहालले संस्कृतिकर्मी राष्ट्रको स्पदन हुन् भन्दै ‘विचारपुञ्ज’ कृतिलाई नेपाल र नेपाल बाहिरको भावना जोड्ने विचारको प्रक्षेपण भएको बताउनुभयो । समारोहका अर्का अतिथि प्रा.डा. भागवत ढकालले विचारबिना व्यक्ति पूर्ण हुन नसक्ने र मान्छेलाई पशुबाट ज्ञानले नै पृथक् बनाउने भएकोले ‘विचारपुञ्ज’ कृतिको महत्त्व उच्च रहेको बताउनुभयो । साथै कृतिमाथि डिल्लीराम सुवेदी, मनोजमणि आचार्य, सोझो गाउँले लगायतका वक्ताहरूले पनि प्रकाश पार्नुभएको थियो ।
लोकार्पण समारोहमा मनोजादित्य न्यौपाने, गोकुल अधिकारी, धनराज वास्तविक, बाबु साहेब, इन्द्र लम्साल, पूर्णिमा प्रतिविम्ब, मनोज रसिक, नरेशप्रसाद पंडित, अनुराग न्यौपाने, विपना न्यौपाने, घनश्याम पाठक, नवराज आचार्य, अञ्जु शर्मा, महेन्द्र उपाध्याय, वर्षा बन्दना आदि कविहरूले कविता, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।।