१२ दिनपछि विपिनलाई


हरेकपल August 12, 2023

  • रोशन थापा ‘नीरव’

शब्द निःशब्द छ
समय असमय बनेको छ
कुनै भाव
कुनै अभाव
केही उपमा
केही संज्ञा
केही पनि छैन मसँग यति बेला ।
तिम्रो जानु
निस्तब्ध त छँदै छ
भविष्यको त्यो सुदूर सहयात्रा
अहिले टक्क रोकिएको छ—

कैयौँ भेटघाट
कैयौँ बसिबियाँलो
केही तरलको स्वाद
केही गरलको कुरा
सबै–सबैबीच
तिमी आशा बाँच्ने भन्थ्यौ
तब खोइ आशा ?
यदि तिम्रो फर्कनुको
छैन भने कुनै सम्भव
भो, पर्दैन मलाई
आशाका कुरा
पर्दैन मलाई
तिमीलाई सम्झनुको भाव
मसँग त छैन कुनै
तिमीलाई श्रद्धाञ्जलि–गुच्छा
त्यो पनि त शब्दबाटै बनिने हो
तर त यति बेला
निःशब्द छु
तिम्रो जानुको
शून्यतासँग
चकमन्न छु
जाऊ—जाऊ—जाऊ
सम्झनामा कहिल्यै नआऊ
सम्झनाको लागि
मसँग कुनै प्रार्थना छैन
मेरो मित्र
तिम्रो जानुलाई
मेरो कुनै भाव–व्यञ्जना छैन,
तिमी गयौ
बाटोमा एक्लो यात्री भएर
तिम्रो जानुको
अर्थ, कारण, अवस्था सबैसबै हेरिरहेको छु
बस…।