राहुल-यशोधरा संवाद  : एक ऐतिहासिक कृति


हरेकपल August 19, 2023

  • जीवनपानी

लालगोपाल सुवेदी । यो नाम स्वनामधन्य नाम हो । यो राज्यसँग परिचित नाम हो । सुधी पाठकसँग परिचित नाम हो। सबैले जान्नै र पढ्नैपर्ने नाम हो। यो नामबाट राज्यले राज्यका लागि कला-साहित्य, भाषा- संस्कृतिजस्ता अनमोल सम्पत्ति कमाउन सक्छ। खासमा उनी कवि हुन् । उनले कविता लेख्छन् । गीत लेख्छन् । गीतमा नाटक लेख्छन् । उक्त नाटकलाई पाठकमञ्चमा लगेर मञ्चन गराउँछन् । यो उनको प्रतिभा हो । उनमा प्रतिभाको कारखाना छ । त्यहाँ उनले अनेकौं क- श्रेणीका साहित्यिक बिम्बहरू उत्पादन गर्छन् र आफ्ना सिर्जनामार्फत ती उत्पादन राज्यका नाममा साहित्यका बजारमा पुर्याउँछन्। ती बिम्बहरूले सिधै पाठकका विचारलाई गहिरो प्रभाव पार्दछन्। त्यो प्रभावको प्रभावले पाठकमा नवीन कल्पनाको सिर्जना गराउँछ । आइन्स्टाइनको अनुभवमा कल्पना विज्ञानको जननी हो । उनले कल्पनाको माध्यमबाट वर्तमान समयलाई प्राचीन समयसँग जोड्छन्। कल्पनालाई पुल बनाउँछन् । वैदिक र बौद्ध समयका दुर्लभ संस्कारहरू वर्तमानमा ओसार्न चाहन्छन् । संस्कार र संस्कृतिको खडेरीले ओइलाएकको विकृत मानव चेतनालाई प्राचीन संस्कारले सिञ्चन गर्न चाहन्छन् । अतः नेपाली साहित्य जगतमा उनी वैदिक र बौद्ध संस्कारका प्रचारकका रूपमा देखिएका छन्। उनलाई आफ्नो सनातन संस्कृतिमा गौरव छ । उनले यसको महत्त्व र विज्ञानलाई भुलेका छैनन्। स्रष्टाका अदालत पाठक हुन् । पाठकका लागि यो एक नवीन चेतको पुस्तक हो । यसर्थ उनलाई आफ्ना सिर्जना बिकाउन कुनै झुट्टा विज्ञापनको जरुरत पर्दैन । उनी अकबरी सुन हुन्। उनलाई कसीको जरुरतै छैन ।

मलाई यसो भन्नका लागि  शक्ति प्रदान गर्ने पुस्तक उनको भर्खरै प्रकाशित गीतिनाटक ‘राहुल यशोधरा संवाद’ हो।यो कृतिको शक्ति वास्तवमै शक्तिशाली छ।

  यस कृतिमा ३ गीतिनाटक समावेश गरिएका छन् –

१. राहुल- यशोधरा संवाद
२. अंगुलिमाल र,
३. योगमाया र धर्मसभा

यी तीनै गीतिनाटकका विशेषता विशेष छन्। विषयहरू नवीन छन्। यस गीतिनाटकका पछिल्ला दुई गीतिनाटक-  अंगुलिमाल अनि योगमाया र धर्मसभा हुन्।

“अंगुलिमाल” गीतिनाटकको मध्य-खण्ड हो । बौद्ध इतिहासमा अंगुलिमाल एक निकै चर्चित खलपात्रको रूपमा चिनिन्छ। ऊ मगध देशको जङ्गलमा बस्ने एउटा डरलाग्दो डकैत हो ।  त्यो जङ्गलको बाटोबाट जो हिँड्थ्यो, उसले त्यसलाई लुट्ने अनि मारेर त्यसको एउटा औँला काटेर उसैको घाँटीमा माला लगाइदिने भएकोले सबैले उसलाई अंगुलिमाल भन्ने गर्थे ।

एक दिन महात्मा बुद्ध त्यो गाउँमा  पुग्नुहुन्छ । जनताबाट उनलाई ठूलो स्वागत हुन्छ । जनताले त्यो गाउँको मुख्य डर अंगुलिमाल आतङ्कलाई बताउँछन् । बुद्धले त्यो डाँकुलाई भेट्ने निर्णय गर्छन् । बुद्धको त्यो निर्णयलाई अंगुलिमालको हिंस्रकतालाई जानेका गाउँलेले रोक्ने प्रयास गर्छन् । तर बुद्ध एकदम शान्त र स्थित स्वरूपमा जङ्गलमा हिँडिरहन्छन् । त्यतिकैमा पछाडिबाट कानमा कर्कश आवाज आउँछ- ‘रोक, रोक, कता जाँदैछस् ?’, भनेर । बुद्ध केही नसुनेझैँ हिँडिरहन्छन् । बुद्धको अघिल्तिर अकस्मात हातमा तरवार लिएको, घाँटीमा औंलाको माला झुन्ड्याएको, अग्लो शरीर, लामो कपाल, लामो नङ, रातो आँखा भएको कालो डरलाग्दो मानिस उभिन्छ र बुद्धलाई हेरिरहन्छ। अनि भन्छ – ‘हे भिक्षु ! तँलाई मसँग डर लाग्दैन ? हेर् मैले कति जनालाई मारेको छु र औँलाको माला लगाएको छु।’  बुद्धले शान्त र मीठो स्वरमा जवाफ दिन्छन्- ‘तिमीसँग किन डराउने ? यदि तिमी कसैसँग डराउन चाहन्छौ भने जो साँच्चै शक्तिशाली छ, उनैसँग डराऊ। बुद्धको यो कुरा सुनेर अंगुलिमालले चर्को स्वरमा हाँस्दै भन्यो – ‘हे भिक्षु ! तँलाई म बलियो छैन जस्तो लागेको हो ? मैले त एकैचोटिमा दस जनाको टाउको काट्न सक्छु।’ बुद्धले यो सुनेर भन्नुभयो- ‘यदि तिमी साँच्चै बलियो छौ भने गएर उः त्यो रूखबाट दशवटा पातहरू टिपेर लेराऊ।’ अंगुलिमालले तुरुन्तै दश वटा पात भाँचेर ल्याउँछ र भन्छ – ‘रूख नै उखेल्न सक्ने मलाई यसमा के छ र ?’ बुद्धले भन्नुहुन्छ- ‘तिमीले कुनै रूख उखेल्न पर्दैन, बरु तिमी साच्चिकै बलवान् हौ भने यी पातहरूलाई अघि जहाँ-जहाँबाट टिपेका थियौ, त्यहीँ-त्यहीँ लगेर पहिलाजस्तै जोडिदेऊ !’ यो सुनेपछि अंगुलिमाल रिसाउँदै भन्छ- ‘कतै चुँडिएको पात पनि जोडिन सक्छ ?’ त्यसको जवाफमा बुद्धले भने- ‘यदि जोड्न सक्दैनौं भने चुँड्न पनि मनाही छ । मान्छेको टाउको जोड्न सक्दैनौ भने त्यसलाई काट्नुमा तिम्रो के बहादुरी भयो त ?’ यो सुनेर अंगुलिमाल नि:शब्द भयो। महात्मा बुद्ध यसरी बोलिरहँदा एउटा अज्ञात शक्तिले उसको हृदय परिवर्तन गर्‍यो र एक्कासि उसको मनमा मभन्दा बलियो कोही छ भन्ने लाग्यो । यसपछि ऊ बुद्धको पाउमा पर्‍यो र माफ माग्दै भन्यो- ‘मलाई हजुरको शरणमा लिनुस् ।’ बुद्धले उसलाई शिष्यको रूपमा शरणमा लिन्छन् । पछि यही अंगुलिमाल ठूलो बौद्ध-भिक्षु बनेका बौद्ध इतिहासमा उल्लेख छ ।

कृतिकारले यो गीतिनाटकलाई पाठकसामु मञ्चन गर्नुको मुख्य ध्येय ज्ञानको शक्ति बताउनु हो। ज्ञानी र  ज्ञानको अगाडि कोही शक्तिशाली पनि शक्तिशाली छैनन्, होइनन् र हुनै सक्दैनन् भनेर सार्वजनिक गर्नु हो । बैगुनलाई गुनले मार्न सकिन्छ भनेर सिद्ध गर्नु हो । मुर्खको उपचारका लागि खुवाउने ओखती, ओखती पसलमा पाइँदैन। यसका लागि बुद्धजस्तै ज्ञानमा स्थित बुद्धपुरुष चाहिन्छन्।  यहाँ बुद्ध ज्ञानका प्रतीक हुन् र अंगुलिमाल मुर्खताको । नेपाल बुद्ध जन्मेको देश हो । ज्ञान उब्जिएको देश हो । शान्तिको सूर्य उदाएको देश हो । किन्तु आज यो देशमा बुद्धको महिमाशक्तिको गुणगानको सट्टामा अंगुलीमालजस्ता दुष्ट, भ्रष्ट, डकैत, बलात्कारी, तस्करी , अत्याचारी, दुराचारी, अपराधीहरूको जयजयकार भैरहेको छ। जसको परिणाम हो- आजको नेपालको यो दुर्दशा । आज देशैभरि अंगुलिमालजस्ता हिंस्रकहरूको बिगबिगी छ।

आज राज्यभर व्याप्त अराजकता यस्तै व्यक्तिको हातमा सत्ता रहनाले हो । जो सत्तामा छन् तिनैले बुद्धको ज्ञानभूमिमा अंगुलिमाल बनेर लुटपाट मच्चाइरहेका छन्। जनतालाई तड्पाइरहेछन्। परिणामत: आज दैनिक १००० देखि १५००जति युवाहरू युरोप र अमेरिकातिर पलायन भैरहेछन्। देश नेपाली नागरिकविहीन भैरहेछ । बाबुआमा नभएकाहरूलाई  टुहुरा भनिन्थ्यो तर आज देशमा छोराछोरीहरू नहुनाले बाबुआमाहरू टुहुरा बनेका छन् । देशै टुहुरो बनेको छ । मानवरहित भएका छन् – गाउँबस्ती र पाखा पखेराहरू। हिजो लहलह बाली लहलहाउने खेतबारीहरू झार र झाडीले भरिएका छन् । यस्तो दुर्दशाको कारण देशले बुद्धजस्ता असल नेता नपाउनु र जनताले छान्न नजान्नु नै प्रमुख हुन्। यस्तो हुनु बुद्धको देशमा ज्ञान हराउनु अर्थात् शान्ति हराउनु हो। यसैका लागि  विनम्र आग्रह हो कृतिकारको ‘अंगुलिमाल’ गीतिनाटक। देशको यो हविगत स्थितिको सुधारकेन्द्र हो- ‘अंगुलिमाल’ ।

यसपछि “योगमाया र धर्मसभा” यस गीतिनाटकको अन्तिम खण्ड हो । नेपाली इतिहासमा योगमायालाई समाज सुधारक, शान्ति र अहिंसाकी प्रतिमूर्ति, योगसाधक, निस्वार्थ, तपस्विनीजस्ता पवित्र नामले चिनिन्छ । सामाजिक सुशासन र सत्यका पक्षमा लड्ने उनी महान् योद्धा हुन्। उनी जीवनभर समाजका विकृतिहरू-बाल विवाह, बहुविवाह र सती प्रथाको अन्त्य, छुवाछुत प्रथाको अन्त्य, विधवा विवाहलाई मान्यता तथा नारी शोषण आदिलाई हटाउनमै व्यस्त रहिन् । विकृतिका काँडाहरूमा नाङ्गा पैतालाले कुल्चिँदै विकृतिहरूका बिरुद्ध जिन्दगीभर उनी लडिरहिन् । विभिन्न ठाउँहरूमा पुगिन् । यसै क्रममा उनी एकदिन प्युठानको स्वर्गद्वारीमा पुग्छिन् र त्यहाँ उनले स्वर्गद्वारीका महाप्रभूलाई भेट्छिन् अनि उनको कृत्यबाट आल्हादित बन्छिन् । यसरी उनी महाप्रभुका साथ सत्सँगमा समर्पित हुन्छिन् । उनको आचरणले महाप्रभु पनि प्रसन्न हुन्छन् र उनी महाप्रभुबाट दीक्षित हुन्छिन् । त्यसपछि उनी स्वर्गद्वारीको गुफाभित्र बसेर अनेक योग-साधना गर्न थाल्छिन् । जाडो दिनमा आधा महिनासम्म अरुण नदीमा कम्मरसम्म डुबाएर र गर्मी महिनामा धुनी जगाएर आगाको रापसँगै उनले कठोर साधना गर्न थाल्छिन् । उनले जाडो र गर्मी पचाउँछिन् । भनिन्छ, उनले एउटा विशेष ईश्वरीय शक्ति नै प्राप्त गरेकी थिइन् । उनले जस्तोसुकै बिरामीलाई नाडी छामेर र झारफुक गरेरै ठीक पारिदिन्थिन् । यतिसम्म कि सर्पले डसेर मरणासन्न मान्छेलाई पनि फुकेरै सञ्चो पार्थिन् । यसरी एकातिर योगमाया धार्मिक नशामा डुबेकी थिइन् भने अर्कोतिर राणा शासनले जनतामा आतङ्कित पारेको सामाजिक स्थितिका कारण बेचैन थिइन् । बेचैनीको यही घडीमा उनले सांस्कृतिक आन्दोलनको सुरुआत गरिन्। उनी सतीप्रथा हटाइयोस्, जातभातको रीतिरिवाज हटाइयोस्, जनताले न्याय निसाफ पाऊन् र शोषणरहित समाजको सिर्जना होस् भन्ने  माग राख्दै सामाजिक परिवर्तनका लागि न्याय माग्न पैदलै हिँडेर काठमाडौंसम्म पुगेकी थिइन् । एकातिर उनका माग पूरा गर्न श्री ३ जुद्धशमशेरले उनलाई वचन दिएका थिए भने अर्कोतिर उनैले अनेक प्रपञ्च रचेर उनलाई दण्ड दिनका लागि षड्यन्त्र पनि रच्दैथिए । उनमा शास्त्रार्थ ज्ञान अति थियो । दरबारिया विद्वानसँगको शास्त्रार्थमा यसैले उनकै विजय भएको थियो । उनले स्वर्गद्वारी महाप्रभुबाट प्राप्त शिक्षादीक्षा र ज्ञानले आफ्नो मन, मस्तिष्क र विवेकको ढुकुटी भरेकी थिइन्, जुन शक्तिको स्वरूप बनेर उनमा स्थित भएको थियो । उक्त बेला उनको महान् बौद्धिक शक्ति देखेर जुद्धशमशेर तीन छक्क परेका थिए । यसरी योगमाया समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोधको त्यो समयमा अभियान चलाउने साहसी महिलाका रूपमा चिनिन्छिन्। काठमाडौंमा उनले श्री ३ जुद्धशम्शेरसँग धर्मभिक्षा मागेकी थिइन् । परन्तु उनले श्री ३ बाट वचन पाइनन् ।

परिणामत: उनमा झन् विद्रोह थपिन्छ। उनी आफ्नै जिल्लाको दिङ्लामा फर्किन्छिन्। महाप्रभलेु गरेझैं यज्ञ गर्नका लागि जुट्छिन् । कठिन योगसाधनामा लाग्छिन् । दिङ्लामा १९९७ सालमा ठूलो यज्ञको आयोजना गर्छिन् । श्रद्धालु भक्तहरुको ठूलो भीड लाग्छ । यो यज्ञ अरूबेलाका यज्ञभन्दा फरक थियो । यज्ञको प्रवचनमा उनले -‘अब भक्तहरुले बाँच्ने युग छैन । अतः यसै यज्ञको समाप्तिका दिन पूर्णाहुतिका रूपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्नि समाधि लिनुपर्छ l’ जसमा २४० जना भक्तहरूले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णय गरे । उनको यो घोषणा र भक्तहरूको निर्णयले पूरै भोजपुर स्तब्ध भयो । एक्कान दोक्कान मैदान गर्दै  यो समाचार धनकुटामा रहेका राणाका कारिन्दा माधव शमशेरका कानमा पुग्यो र राणाका सेनाले त्यो यज्ञकुण्डलाई नियन्त्रणमा लियो, योगमायाका हातगोडामा नेल ठोक्यो र उनीलगायत उनका समस्त अनुयायीहरूलाई जेलमा लग्यो । फलतः तिनीहरू कोही पनि यज्ञकुण्डमा हामफाल्न पाएनन् । केही महिनादेखि वर्षपछि उनीहरू जेलबाट मुक्त हुन्छन् । त्यसपछि योगमाया आफ्ना भक्तलाई पछि लगाएर अरुण नदीमा पुग्छिन् । त्यहीँ उनले एउटा कुटी बनाएर बस्छिन्। यो संवत् १९६६ तिरको कुरा हो।  पछि फेरि उनी अरुण नदीको किनारामा उभिएर बोलिन् – ‘अग्नि समाधिमा हामीलाई सरकारले रोके पनि जल समाधिका लागि आज हामीलाई कसैले रोक्न सक्दैनन्, इच्छा हुनेले मेरो अनुकरण गर्नू,’ भन्दै उर्लंदो अरुणको भेलमा उनी लगायत ६८ जना भक्तहरू हामफाल्छन् र जल-समाधि लिन्छन् ।

यो कृति गीतिनाटक हो । अतः नाटक मञ्चनमा समाधिको यो पाटोमा प्राविधिक कठिनाइ हुने हुँदा कृतिमा यसलाई समावेश नगरिएको होला । यो समाधि पक्ष नै योगमायाको सामाजिक कुरीतिबिरुद्धको राज्य पक्षलाई र समाज पक्षलाई भयावह चुनौती हो । योकुरा कृतिकारलाई अवगत भएर पनि यहाँ समावेश गर्न नसक्नु पक्कै यसको प्राविधिक जटिलता नै थियो । यसरी योगमायालाई नेपाली इतिहासले सामाजिक कुरीति विरुद्धकी शक्तिमाताका रूपमा लिन्छन् ।

 योगमाया साँच्चिकै सामाजिक कुरीति विरुद्धकी शक्तिमाता हुन्। यो कुरामा स्रष्टा सुवेदीलाई कत्ति सन्देह छैन। योगमायाको सामाजिक सुशासन र सुधारका लागि भयमुक्त रूपले उनको हृदय र मस्तिष्कलाई गहिरो प्रभाव पारेको देखिन्छ । उनको  सामाजिक कुरीति र अन्धविश्वासका विरुद्धमा भएका साहसिक योगदानलाई उनलेे यो कृतिमार्फत् नवीकरण गर्न चाहेका छन्। योगमाया जे र जसका लागि आन्दोलित भइन् , आन्दोलन गरिन् , योग-साधना गरिन्, आज तिनै महिलाले उनलाई भुल्दै गएको देख्दा कृतिकारको मन विरक्तिएको यस खण्डमा उनले मञ्चन गर्न खोजेका गीत र संवादबाट व्यक्त हुन्छ। उनले उनको काव्य ” पानी, योगमाया र इन्द्रेनी “मा योगमायालाई पहिल्यै सम्झेर फेरि यस कृतिमा पनि सम्झनुले उनले योगमायाको योगदानलाई नेपाली समाजमा पुनः पुनः नवीकरण गराइरहन चाहन्छन् भन्ने उनमा योगमायाको योगदानको गहिरो प्रभावको सङ्केत हो। साथै यो कृति उनको नेपाली समाजमा यसको तत्काल आवश्यकताको निजी महसुस र पाठकमार्फत समस्त नेपाली समाजलाई योगमायाले देखाएको बाटोमा हिँड्नका लागि विनम्र निवेदन पनि हो । जातीय विभेद, छुवाछूत विभेद , सतीप्रथा आदि सबै अज्ञानताले सिर्जित कुरीतिहरू हुन्, भन्नाका लागि हो- “योगमाया र धर्मसभा” । कृतिकार स्वयं ब्राह्मण परिवारका हुन् तथापि जातीय विभेद र छुवाछूतलगायतका  सामाजिक विकृतिका विरुद्ध उनको समर्थन योगमायामा छ। भन्नाको तात्पर्य उनलाई विभेद मन पर्दैन । उनी विभेदका विरोधी हुन्। उनले विभेदलाई जघन्य सामाजिक अपराधका रूपमा लिन्छन् । शास्त्रमा भगवानहरूले जातीय र छुवाछूत विभेद कतै गरेका छैनन्। यदि गर्थे भने रामले शबरीले चाखेको जुठो बयर मीठो मानेर खाँदैनथे र गीतामा कृष्णले सबै जातको रचयिता मबाट भएका हुन्, यसैले यी सबै मेरै अंश हुन् भनेर भन्दैनथे । भगवानकै अंश हुन् भने सबै समान छन् अनि विभेद कसरी आयो ? यो योग-साधक योगमायालाई राम्ररी थाहा थियोे । यस्तै पूर्वीय दर्शन अध्ययन गरेका यस कृतिका कृतिकारलाई पनि यी विभेदहरू अपच्य लागे। अनि लेखे – “योगमाया र धर्मसभा” ।

यस गीतिखण्डमा योगमायाका भक्तहरूमा अछूत र तल्लो जातमा गनिएका  साहिँली कमिनी र सापे दमाई छन् । साहिँली कमिनीसँग उनले पानी मागेर पिउँछिन् भने सापे दमाईले पकाएको खीर खान्छिन्। यसरी उनले जातीय र छुवाछूत विभेदविरुद्ध सामाजिक युद्धको आरम्भ गर्छिन्। सबै जातिले मन्दिरमा भगवानको पूजा गर्न, फूलप्रसाद चढाउन पाउनुपर्छ । कसैले वेद पढ्न चाहन्छन् भने तिनीहरू सबैले वेद पढ्न पाउनुपर्छ। ती महिला-पुरुष, सधवा- विधवा, ब्राह्मण-क्षेत्री-वैश्य-शूद्र  जो पनि हुनसक्छन् । यो भन्दै र गराउँदै जाने क्रममा उनलेे समाजका कानेखुसीहरूलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिन्थिन् । उनलाई जसले जे भने पनि समाजका यी विकृतिलाई हटाउन कस्सिएको आफ्नो सामर्थ्यलाई अलिकति पनि कम हुन दिइनन्। मान्छे मनबाटै सुग्घर छ भने जो जहाँ रहोस्, जहाँ बसोस्, केही फरक पर्दैन । जसको मन फोहोर छ उसले कामभन्दा कुरा बढी गर्छ र त्यसैको कारण समाजमा कुराहरूको खेती सुरु हुन्छ अनि तथ्यभन्दा तर्कवितर्कमा मानिस रमाउन थाल्छन्। अन्ततः समाज मैलिन्छ, कुरीति र विकृतिहरू मौलाउँछन् । मानिस मानिससँग विभाजित हुन थाल्छन् । ‘तँ र म’को द्वैत भावनाको सिर्जना सुरु हुन्छ । विभेदहरू जन्मिन्छन् । योगमायाको उपस्थिति यसैले गराउँछ ।

दमनलाई दमन गर्न अर्को दमन जन्मिन्छ । यसर्थ पवित्र मनले जसले जे गर्छ, त्यो आफू र सबैका लागि फलदायी बन्छ । यहाँ  योगमायाको संवाद तथाकथित ब्राह्मण, पण्डित र समाजका गण्यमान्य विद्वानसँग पनि हुन्छ जसले धर्मको प्रचार त गर्छन्, परन्तु वास्तविक धर्म बुझेका हुँदैनन् । योगमायाले धर्मको एकेक केस्रा उनलाई सुन्नेहरूले नबुझ्दासम्म बुझाउँदै जान्छिन् । महिला दमन र हिंसाप्रति उनको ठूलो खेद छ । असह्य पीडा छ । यी सबै अन्यायका विरुद्ध उनको युद्ध तत्कालीन समाज र राज्यसँग उनी नमरुञ्जेल भयो ।

यसरी कृतिको मूल मर्म अत्यन्त मार्मिक देखिन्छ। सभ्य र सुसंस्कृत समाज निर्माणका लागि यो पुस्तकले खेल्ने भूमिका अद्वितीय छ। पुस्तकभित्रका हरेक खण्डहरूको सामाजिक महत्त्व अति महत्त्वपूर्ण छ । यसर्थ यो एक गज्जबको पुस्तक हो  । सबै पाठकहरूका लागि सङ्ग्रहणीय पुस्तक हो। अलिअलि धूँवा नआई त आगो पनि बल्दैन । आगोमा धूवाँ त हुन्छ नै । अलिअलि धूवाँ त आगो बल्नैका लागि जरुरी हुन्छ नै। पूर्णिमाको चन्द्रमामा उज्यालोको महत्त्व छ न कि त्यसका सामान्य भौतिक दागका ।  कृतिमा कान्ति छ, शान्ति छ, शक्ति छ, भक्ति छ र मुक्ति छ । त्यसो त यस पुस्तकमा मुख्य

शीर्षक ३ भए पनि यसलाई अरू अनेकौं उपशीर्षकमा छुट्टाछुट्टै समालोचना गर्न सकिन्छ :-

१) राहुल-यशोधरा संवादमा बालमनोविज्ञान
२) राहुल- यशोधरा संवादमा बालअधिकार
३) राहुल-यशोधरा संवादमा वातावरण संरक्षण
४) राहुल-यशोधरा संवादमा पशुअधिकार
५) राहुल-यशोधरा संवादमा  प्रजातन्त्र तथा मानव अधिकार
६) राहुल-यशोधरा संवादमा मानव स्वतन्त्रता-चेत
७) राहुल-यशोधरा संवादमा मातृमहिमा तथा पूर्वीय नारीवाद
८) राहुल-यशोधरा संवादमा जातीय समानता
९) राहुल-यशोधरा संवादमा सामाजिक यथार्थ
१०) राहुल-यशोधरा संवादमा मिथक तथा इतिहास
११) राहुल-यशोधरा संवादमा बुद्ध-दर्शन
१२ ) योगमाया र धर्मसभामा हिन्दूधर्म दर्शन
१३ ) राहुल-यशोधरा संवादमा मानवतावाद
१४ ) अंगुलिमाल- बुद्ध संवादमा ज्ञानको शक्ति
    र अरू पनि ।
  
यसप्रकार लालगोपाल सुवेदीको यो कृति नेपाली साहित्य जगतले पाएको एक अमूल्य निधि हो । बुझ्नेका लागि श्रीखण्ड हो । इतिहासको नवीकरणका लागि यसको भूमिका शब्दातीत छ।

यस्ता कृतिहरू उनीबाट बारम्बार जन्मिरहून् । अस्तु !

===