चन्द्रयान- ३ अब चन्द्रमाको २५ किमी मात्रै पर, तीन दिन भित्र चन्द्रमामा अबतरण गराइने


हरेकपल August 20, 2023

नयाँदिल्ली । चन्द्रयान- ३ को दोस्रो र अन्तिम डि बूस्टिङ अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरूले बुधबार चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्नुअघि महत्त्वपूर्ण चरणको नजिकबाट निरीक्षण गरेका थिए । 

ल्यान्डर विक्रमले आफूलाई एउटा कक्षामा स्थापित गरेको छ, जहाँबाट चन्द्रमाको सबैभन्दा नजिकको दूरी २५ किलोमिटर र सबैभन्दा टाढाको दूरी १३४ किलोमिटर छ । इसरोले यो कक्षाबाट बुधबार चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रमा सफ्ट ल्यान्डिङको प्रयास गर्ने जनाएको छ ।

इशरोका अनुसार दोस्रो र अन्तिम डिबुस्टिङ अपरेसनले ल्यान्डर मोड्युलको कक्षालाई २५ किमी देखी १३४  किमीमा सफलतापूर्वक घटाएको छ । मोड्युलले आन्तरिक जाँचहरू पार गर्नेछ र सूर्योदयमा तोकिएको समयमा अब अवतरण गराईनेछ, त्यसका लागि सुर्योदय पर्खनु पर्ने हुन्छ । 

इशरोका अनुसार अब अगस्ट २३ मा ५ः४५ बजे अवतरणको प्रयास गरिनेछ । शुक्रबारको पहिलो डि बूस्टिङ अपरेसनको क्रममा इसरोका पूर्व प्रमुख के सिवनले भनेका थिए कि, चन्द्रयान ३ ल्यान्डरको डिजाइन अघिल्लो चन्द्रयान २ मिसनमा प्रयोग गरिएको जस्तै हो । उनले भने, ‘डिजाईनमा कुनै परिवर्तन भएको छैन । चन्द्रयान–२ को अवलोकनका आधारमा मिसनमा भएका सबै त्रुटि सच्याइएको छ ।’

चन्द्रमामा सफल अवतरणपछि भारत यो उपलब्धि हासिल गर्ने विश्वको चौथो देश बन्नेछ । चन्द्रयान–३ जुलाई १४ मा प्रक्षेपण गरेपछि ५ अगस्टमा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । प्रोपल्सन र ल्यान्डर मोड्युलहरू छुट्याउने अभ्यास अघि यसलाई चन्द्रमाको सतहको नजिक आउन अगस्ट ८, ९, १४ र १६ मा यसलाई चन्द्रमाको कक्षमा तल लैजाने प्रयास गरिएको थियो ।