काठमाडौँ । चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन भारत सफल भएकापछि नेपाली नेताहरुले बधाई दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , परराष्टमन्त्री एनपी साउँदल, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले भारतलाई बधाई दिएका हुन् ।
कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्तरीक्ष अनुसन्धान संस्थालाई बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिए ।
प्रधानमन्त्री प्रचण्डले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताए । उनले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरे ।
प्रचण्डले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई ज्ञापन गरे । भारतले आज चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको छ ।