ताजमहलबाट फर्कँदा


हरेकपल September 2, 2023

  • ज्योति जङ्गल

भन्नेहरू सबै
साँचो कहाँ भन्दा रहेछन् ?
गाउनेहरूले गीतमा पनि
झुटो संवेदनको धून भर्दा रहेछन् ।

प्रेमको मन्दिर भनेर चिनेथेँ ताजमहललाई
समर्पणको इतिहास भनेर सुनेथेँ ताजका गीतहरू
कौतुहलको उत्ताउलो वेग छातीले थिचेर
प्रेमको धैर्यलाई मुटुभित्रै थुनेर
म सुन्न गएथेँ प्रेमका नसुनिने सङ्गतहरू
म छुन गएथेँ प्रेमका नदेखिने तस्बिरहरू ।

मलाई संसारका
हज्जारौँ प्रेमी आत्महत्याको मुक्ति त्यहाँ माग्नुथियो,
मनमनै चपाएर गरेका
बलिदानी प्रेमको साक्षी उसैलाई राख्नुथियो,
दैनिकीले निलेका
प्रेमका निला ओठहरू फिँजाएर
गुलाबी रङले पुनर्रोगन गर्नुथियो…
नजानी के–के सोचेंछु मैले,

नजानी के के सोचेंछु मैले,
आमाको वात्सल्यभन्दा प्यारो प्रेम
स्वेच्छाको चाँदनीजस्तो चमकदार,
उफ !
त्यसरी प्रकाशन गर्ने हिम्मत गरेको छ कसले
प्रेमको घोषणापत्र ?
कसले तयार पारेको छ प्रेमको अनन्य महल ?
त्यागको कम्पनले
बिरामी भएर पुगेथेँ त्यहाँ ।

अहँ,
सङ्गमरमरको फूलको थुँगा
कहीँ कतै मुमताजको आँसुको शीत
मन त्यसै भिजिरह्यो
मन त्यसै ठोकिइरह्यो,
बाँचुन्ज्याल तड्पिएका ती धड्कनहरू
अचानक रोकिएका बेआवाज भित्ताहरूमा
पटक्कै प्यारो लागेन
मृत्युपछिको प्रेमको दर्शन,
समाधिमा प्रेमको तर्पण।

ताजमहलमा,
जीवनको अन्तिम सत्य
प्रायश्चित गरिरहेथ्यो,
त्यो शान्तिमा
फगत फगत
एउटा भुलक्कडले सम्झना गरेको
अतीतबोधको झन्डा हल्लिरहेथ्यो ।

ताजमहलबाट फर्कँदा,
मुटु खुम्चिने गरी
आहतको सिरेटो बोकेर
म रित्तै चिसै फर्किएँ,
अलिकति फुर्किएको के थिएँ
प्रेमको अपारतामा डुब्न..
म निस्सार बादशाहसँग
चित्त दुखाएर फर्किएँ ।