काठमाडौं,१५ असार। संखुवासभाको सिलिचोङ-१ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ भएपछि काठमाडौंबाट मद्दतका लागि थप टोली पठाइएको छ ।
सशस्त्र प्रहरीका निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जना र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जना सुरक्षाकर्मी संखुवासभातर्फ पठाइएको हाे ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंबाट सेनाको एमआई-१७ हेलिकप्टरबाट सशस्त्र र जनपद प्रहरीको दुई टोली हेयाङ्लामा पठाएकाे बताएकाे छ।
विप्लव समूह र प्रहरीबीच सोमबार बिहान हेयाङ्लामा गोली हानाहान भएको थियो। दोहोरो गोली हानाहान भए पनि दुवैतर्फ क्षति नभएको दाबी प्रहरीको छ। संखुवासभा प्रहरीका ९ जना र सशस्त्र प्रहरीका १० जना प्रहरी बिहान हेयाङ्ला पुगेका थिए। विप्लव समूहले गोली हानेपछि जवाफी फायरिङ गरिएको प्रहरीले जनाएको छ।