सामुदायिक सूचना प्रविधि केन्द्रको भवन हस्तान्तरण


हरेकपल July 2, 2019

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको वाह्रविसे नगरपालिका वडा नं. ८ स्थित मानेश्वाँरामा सामुदायिक सूचना प्रविधि केन्द्रको भवन निर्माण गरी वडा कार्यालयको स्वामित्वमा हस्तान्तरण गरिएको छ । ग्लोबल अफेयर्स क्यानडाको आर्थिक सहयोग, सेसी नेपालको साझेदारीमा टुकी संघ सुनकोशीद्वारा सञ्चालित सुशासन परियोजनाको सहयोगमा उक्त भवन निर्माण गरी हस्तान्तरण गरिएको हो।

सुशासनले महिला तथा सिमान्तकृत समुदायकालागिप्रविधिको दिगो प्रयोग, क्षमता अभिवृद्धि तालिम सहित सूचनामा नागरिकको पहुँचको लागि स्थानीय सरकारसँग समन्य गरी कार्यक्रम सञ्चालन गरिरहेको छ।

सुशासनले जिल्लाको दुई पालिका सुनकोशी गाउँपालिका र वाह्रविसे नगरपालिकामा पालिका र समुदायस्तरीय सूचना प्रविधि केन्द्रमा प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्दै आईरहेको छ । जस अन्तर्गत समुदायस्तरमा वाह्रविसे नगरपालिका वडा नं ८, मानेश्वाँरामा भवन हस्तान्तरण कार्यक्रम सञ्चालन गरियो ।

कार्यक्रमकी प्रमुख अतिथि एवं वाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले भन्नु भयो, “सूचना प्रविधि केन्द्रको भवनहस्तान्तरण भएसँगै सूचना प्रचार प्रसारको लागि नयाँ ढोका खुल्ला भएको छ । सुशासन परियोजनाको सहयोगमा हस्तान्तरण भएको यस सूचना प्रविधि केन्द्रलाई वाह्रविसे कै नमुनाको रुपमा स्तरोन्नती गरिने छ ।”उहाँले थप्नुभयो, वर्तमान युग सूचना र प्रविधिको युग भएकाले पालिका र वडाले संयुक्त रुपमा सूचना प्रविधि केन्द्रको समुन्नत सञ्चालनको लागि समुदाय स्तरमा सूचना प्रविधि केन्दको भवन बन्नु नै एउटा उत्सबको विषय भएको बताउनुभएको छ ।सूचनाको पहुँचमा नागरिकहरुलाई सुसूचित गर्न र अन्य वडाहरुलाई अभिप्रेरित गर्न यस केन्द्रले महत्वपूर्ण भुमिका निभाउने बताउँदै, आगामी दिनमा यसलाई प्रभावकारी बनाउन वाह्रविसे नगर सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो ।

वाह्रविसे नगर वडा नं ८ का वडाध्यक्ष सुरज लामाले भन्नुभयो, “यस सूचना प्रविधि केन्द्रको भवनले सुशासन प्रवद्र्धनमा अमूल्य भूमिका खेल्ने छ । सेसी नेपालले आयोजना गरेका कार्यक्रमहरु प्रभावकारी भएको भन्दै, यस सूचना प्रविधि केन्द्रको स्थापना सँगै मानेश्वाँराका स्थानीयहरुमा एउटा उत्साह थपिएको छ । नागरिकहरु सूसूचित हुने माध्यमको मार्ग भएकाले पालिका तथा वडाले गर्ने÷गरिएका विकासका कार्यक्रमको सम्पूर्ण सूचना यहीबाट प्राप्त गर्न सक्छौँ, जवाफदेही पारदर्शीताका लागि नागरिकसँग प्रत्यक्ष साक्षत्कार गर्न सुशासन परियोजनाले गरेको सहयोग प्रति आभारी छु । वडाध्यक्ष लामा भन्नुहुन्छ, आगामि दिनमा यस सूचना प्रविधि केन्द्र नागरिकलाई सूसूचित, सुशासित र सेवा प्रवाहमा सूचना प्रविधि सञ्चालनलाई प्रभावकारी बनाउन वडाले आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । र, थप समन्वय, सहकार्य गर्न वडा कार्यालय टुकी संघ सुनकोशीसँग निरन्तर कार्य गर्न तत्पर छ । मानेश्वाँरावासीले हर्षोल्लास मनाउने वातावरण तयार भएको छ ।

कार्यक्रममा वडा पदाधिकारीहरु, पालिकाका विषयगत शाखा समतिका प्रतिनिधि, अनन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सबै उपस्थित सहभागीहरुले यस पूनित कार्यको स्वागत गरेका थिए ।