आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन


हरेकपल July 2, 2019

असार १७, काठमाडौँ । काठमाडौंमा आयोजना हुने भनिएको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम रोक्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ।

अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो। आज बसेको समितिबैठकले नेपालमा आयोजना हुने आइफा अवार्ड रोक्न निर्देशन दिएको हो । गत बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताएका थिए।

अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो।

समितिमा पाँच वटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि थिए।

यो समितिले अवार्डका लागि सम्झौता, सहजीकरण, समन्वय गर्ने र कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको थियो।

अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्ने बताइएको थियो।