सञ्चारमाध्यमको दर्ता एवं नवीकरण अब हेटौँडाबाट हुने


हरेकपल July 2, 2019

असार १७ , काठमाडौं । एफएम, रेडियो र स्याटलाइटबाहेकका टेलिभिजन र अनलाइन दर्ता र नवीकरण अब प्रदेश सरकारअन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालय हेटौ‌ंडाबाट हुने भएको छ । यसैगरी प्रदेश ३ मा कार्यरत पत्रकारहरुले अबदेखि प्रेस पास लिन अस्थायी राजधानी हेटौडा जानुपर्ने छ ।

प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन ०७५ र नियमावली ०७६ अनुसार ती अधिकार प्रदेशमार्फत हुन लागेका हुन् । प्रदेशले बनाएको ऐन र नियमावलीअनुसार पत्रपत्रिकाको अभिलेख राख्ने, पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण पनि अब सञ्चार रजिष्ट्रारको कार्यालय हेटौ‌ंडाबाटै हुनेछ ।

प्रदेश सरकारले ल्याएको नयाँ नियमावलीमा भएको व्यवस्था अनुसार ऐन प्रारम्भ हुनुभन्दा अघि प्रकाशन हुँदै आएका पत्रपत्रिका, प्रसारण हुँदै आएका एफ एम रेडियो, टेलिभिजन, अनलाइन र पुस्तक प्रकाशनको अभिलेख सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौडामा गराउनुपर्नेछ ।

असार ९ गतेको बैठकले प्रदेश ३ को मन्त्रिपरिषद बैठकले प्रदेश सञ्चारमाध्यम नियमावली ०७६ स्वीकृत गरेपछि अब प्रदेशअन्तर्गतका आमसञ्चार माध्यमको दर्ता, नवीकरण र अभिलेख हेटौडामा राख्न बाटो खुलेको हो ।

प्रदेशसभाले ०७५ मंसिर ११ गते प्रदेश सञ्चार माध्यम व्यवस्थापन विधेयक पारित गरेको थियो । प्रदेश प्रमुखबाट सो विधेयक ०७५ पुस ११ गते प्रमाणीकरण भएको थियो । सोही ऐनबमोजिम ०७५ चैत २७ गते प्रदेश मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानून मन्त्रालयको सिफारिसमा सञ्चार रजिष्ट्रारमा पत्रकार सापकोटालाई नियुक्त गरिसकेको छ ।