माक्र्सवादी प्रधानमन्त्री ओलीको मास्कवादी विचलन


हरेकपल July 2, 2019

–हरेकपल टिप्पणी–

प्रधानमन्त्री केपी ओली अहिले सञ्चारमाध्यममा भाइरल भएका छन् । हुन त सञ्चारको विकास भएसँगै कुनै पनि ‘नौलो विषय’ भाइरल हुनका लागि दिन पर्खेर बस्नैपर्दैन । कुनै असामान्य विषयको पटाक्षेप भएपछि केही घन्टा र मिनेटमै भाइरल भइहाल्छ । प्रधानमन्त्री ओली त्यस्ता भाग्यमानी व्यक्ति हुन्, जो नेपाली मिडियामा दिनहुँजसो भाइरल भइरहेका हुन्छन् । त्यो पनि उनका फरक–फरक अभिव्यक्तिका कारण ।

एक अर्थमा भन्ने हो भने यो उनको खुबी हो । जो–पायो व्यक्तिले भाइरल हुन्छु भनेर चाहँदैमा सजिलै भाइरल हुन सक्दैन । तर, प्रधानमन्त्री ओलीलाई भाइरल हुन केही गनैपर्दैन, बोलिदिए मात्रै पुग्छ । अहिले उनी ‘म प्रधानमन्त्री बनेपछि काठमाडौंमा मानिसले मास्क लगाउन छाडे’ भनेका कारण भाइरल भइरहेका छन् ।

गत शनिबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एक वर्षअघि र अहिलेको काठमाडौंको सडकमा रहेको प्रदूषणको चित्रण गर्दै भने, ‘म प्रधानमन्त्री भएको वेला भनेको थिएँ, अब काठमाडौंमा नाक समाएर हिँड्न पर्दैन । मैले मास्क लगाएर हिँड्न पर्दैन भनेको थिएँ । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे, अहिले मास्क लगाएर कोही हिँड्दैनन् ।’

प्रधानमन्त्रीको सो अभिव्यक्ति आएसँगै उनी एकपटक फेरि चर्चामा आएका छन् । उनको चर्चा सधैँझैँ यसपटक पनि नकारात्मक छ । जे होस्, प्रधानमन्त्रीलाई यति कुरा थाहा छ, जसरी पनि चर्चाको केन्द्रमा आइरहनुपर्छ । अर्थात्, बरु बदनाम हुनु गुमनाम नहुनु भन्ने सिद्धान्तबाट उनी अभिप्रेरित देखिन्छन् ।

तर, उनले भनेजस्तो मास्क नै नलगाई हिँड्न सक्ने अवस्था काठमाडौंमा छैन । मनसुन सुरु भएर फाटफुट वर्षा भएका कारण तुलनात्मक रूपमा धुलो केही कम भएको भने छ । तर, प्रधानमन्त्रीले सो अभिव्यक्ति दिइरहँदा काठमाडौंका सडकमा फोहोरको डंगुरले गर्दा हिँडिसाध्य थिएन । कहिल्यै मास्क नलगाउनेले पनि मास्क लगाउनै पर्ने बाध्यताआइलागेको अवस्था थियो ।

हुन त नेपालीहरूको भाग्य भनौँ कि दुर्भाग्य केपी शर्मा ओली जब स्टेजमा उक्लिन्छन्, दर्शकदिर्घामा बसेकाहरू हाँस्नका लागि तयार भएर बसिहाल्छन् । अरू त अरू भारतीय नाकाबन्दीले थलिएर बसेका वेला पनि नेपालीहरू हाँनबाट कहिल्यै वञ्चित भएनन् ।

उनले मिति नै तोकेर यो महिनाबाट नेपालमा रेल चढ्न पाइन्छ भनेर जनता आश्वासन दिए त कहिले यो समयबाट नेपालको आफ्नै पानीजहाज हुनेछ भनेर ठोकुवा गरे । उनले तोकेका अधिकांश मिति गुज्रिसक्दा पनि प्रधानमन्त्री ओली त्यस्तैखाले आश्वासन दिइरहेका छन् ।

अझ कतिपय विषयमा त प्रगति शुन्य छ तर प्रधानमन्त्री र उनका मन्त्री यो–यो उपलब्धि भयो भनेर फेहरिस्त प्रस्तुत गरिरहेका छन् । मानौँ ती विषयमा कोही विज्ञ छ भने मन्त्री र प्रधानमन्त्री नै छन्, अरू कसैलाई केही थाहा छैन । काठमाडौमा मास्क लगाउनुनपर्ने विषय पनि सोही शृंखलाको अन्तिम पटाक्षेप हो ।

माक्र्सवादी दर्शनका अनुयायी प्रधानमन्त्री ओली अहिले दुईतिहाइ बहुमतका साथ सत्तामा छन् । सर्वहारा वर्गको मुक्तिका लागि भन्दै ‘सामन्त’को सफाया गर्दै झापा विद्रोहका कारण १४ वर्ष जेल जीवन बिताएका उनी अहिले कुनै कोणबाट पनि माक्र्सवादी देखिँदैनन् । माक्र्सवादले जस्ता आचरणलाई बुर्जुवा भन्थ्यो, अहिले ती सबै आचरण प्रधानमन्त्रीमा देख्न सकिन्छ । उनको लवाइ–खुवाइ मात्र होइन, हरेक आचरण पुँजीवादी देखिन्छ ।

शताब्दीपुरुष सत्यमोहन जोशीलगायत अतिथिलाई पछाडि राखेर आफू ठूलो र विशिष्ट कुर्सीमा अगाडि बसेर प्रधानमन्त्री ओलीले देखाएको रवाफ कुनै राजाको भन्दा कहाँ कम थियो र ? त्यसैले जनमानसले माक्र्सवादी प्रधानमन्त्री ओलीमा विचलन आएको टिप्पणी गरिरहेका छन् ।