एकोहोरो गोली चलाइयो तर दोहोरो भिडन्तको हल्ला पिटियो : नेकपा विप्लव


हरेकपल July 3, 2019

काठमाडौं, १८ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफूहरूमाथि चरम दमन गरिरहेको भन्दै आपत्ति जनाएको छ । संखुवासभालगायतका जिल्लाहरुमा दमनलाई तीव्र बनाएको सो पार्टीको आरोप छ ।

विप्लव समूहका पूर्वी कमाण्डइन्चार्ज विषमले आज एक विज्ञप्ति जारी गर्दै सो आरोप लगाएका हुन् । विज्ञप्तिमा असार १६ गते संखुवासभाको तिलिचुङ गाउँपालिका १ मा आयोजित पार्टी कार्यक्रममाथि गृहप्रशासनको ठाडो निर्देशनमा ३ वटा हेलिकोप्टरबाट शसस्त्र फोर्स परिचालन गरेर दमन गरेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– पार्टीका कार्यकर्ताहरु संगठन सुदृढ तथा विस्तार अभियानको क्रममा संखुवासभा तिलिचुङ गाउँपालिका १ मा पुगेको बेला केपी ओली नेतृत्वको सरकार र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को गृहप्रशासनको ठाडो निर्देशनमा ३ वटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी हाम्रो अभियान टोलीलाई चारैतिरबाट घेरी एकोहोरो गोली चलाइयो र दोहोरो भिडन्तको हल्ला पिटियो ।’

सो आक्रमणमा पार्टीका दुईजना सम्पर्कहीन भएको र एकजनालाई गिरफ्तार गरिएको विज्ञप्तिमा जनाइएको छ । गिरफ्तार भएका सुजन अधिकारीलाई प्रहरीले आफैंसँग राखेर घुमाइरहेको अपुष्ट खबर बाहिर आएको समेत सो समूहले दाबी गरेको छ ।

पार्टी नेता कुमार पौडेलको रगत नसुक्दै लालबन्दीमा प्रहरीको गोली लागेर मृत्यु भएका केबल महरलाई समेत सरकारले नेकपासँग जोडेर कथित दोहोरो भिडन्तको नाम दिएको सो पार्टीको आरोप छ । सरकारले चलाएको यी फाँसीवादी दमनको डटेर प्रतिरोध गर्न समेत सो समूहले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।