कार्यमा कसरी सफल बन्न सकिन्छ ? आजको नीति वचन


हरेकपल July 7, 2019

एकाकिना तपोद्वाभ्यां पठनं गायनं त्रिभिः ।
चतुर्भिगमनं क्षेत्रं पञ्चभिर्बहुभिरणम् ।। –चाणक्य

एक्लै तप गर्नू, दुई जना मिलेर पढ्नू, तीनजना मिलेर गीत गाउनू, चारजना मिलेर बाटो हिँड्नू, पाँच जना मिलेर खेती गर्नू र धेरै जना मिलेर युद्ध गर्नू सफल भइन्छ ।

चाणक्यको यो बचन आज पनि सार्थक छ । हिजोका ऋषि महर्षिले देखे भोगेर निकालेका निष्कर्ष नै आजका नीति बचन हुन् । जुन आज पनि उत्तिकै साथर्क छन् ।एक्लै गरेको तपस्या नै सार्थक हुन्छ । जसरी बुद्धले एक्लै तपस्या गरेर संसारमा शान्तिको सन्देश फैलाए । अर्जुनले तपस्या गरेर पाशुपतास्त्र पाए र महाभारतको युद्धका जीत प्राप्त भयो । अध्ययन गर्नेले एक अर्कोमा छलफल गर्न सकेन भने पनि सही ज्ञान प्राप्त गर्न सक्दैन । गायनमा पनि तीन तत्तवकै आवश्यकता हुन्छ गीत, गायन र बाद्यवादनको । यसैगरी एक्लै यात्रा नगर्नु भन्ने लोक उक्ति पनि यसकै उपज हो । कृषि कर्म एक्लै सम्भव छैन । त्यसैले अरुको पनि साथ सहयोग चाहिन्छ । यसैगरी युद्धमा जति धेरै दक्ष जनशक्ति, भयो उति नै जीत सुनिश्चित हुन्छ । त्यसैले चाणक्यको नीति वचन मननीय देखिन्छ ।

–नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–