राती १२ बजे घाम लाग्ने देशको कथा -३


हरेकपल July 6, 2019

(उद्यमी प्रेमबहादुर परियारकाबारेमा विशेष)

-हरिविनोद अधिकारी-

नर्वेका वारेमा अरु धेरै लेख्न पर्नेछ । नेपालीहरु शिक्षा आर्जनका लागि आउन थालेको पनि धेरै वर्ष भइसकेको रहेछ । को पहिले किन आयो भन्ने त्यस्तो कुनै आधिकारिक अभिलेख भएजस्तो लागेन ।

अहिले करिब २५ सय नेपालीहरु पढेर आफ्नो क्षमता अभिवृद्धि गर्न, उच्चस्तरको सिप र विज्ञता प्राप्त गर्न र विभिन्न व्यवसाय तथा उद्यम गरी धनआर्जन गरी जीविकोपार्जन गर्न पनि नर्वेका विभिन्न सहरहरुमा छरिएर रहेका छन् । नेपालका बाह्र महिनामा मुख्यतः ६ ऋतु मानिन्छ । त्यसमा पनि बाह्रै महिना हरियाली रहने देखि बाह्रै महिना हिउँ परिरहने ठाउँहरु छन् । संसारका सबैभन्दा अग्लो चुुचुरो सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला पहाडहरु पनि नेपालमा नै छन् भने समुद्र सतहसरहका ठाउँहरु पनि छन् । बीचमा विभिन्न पहाडसँगै पहाडी उपत्यका, महाभारत सृङ्खला र चुरेभावर क्षेत्र सँगै तराई —मधेसजस्ता अन्नभण्डार पनि नेपालमै छन् । नेपाल समुद्रसँग भने जोडिँदैन । त्यही नेपालबाट नेपालीहरु विभिन्न कारणले विश्वभर छरिएर रहेका छन् ।

त्यहीक्रममा नर्वेमा पनि आएर बसेका छन् । त्यस्तो नेपालबाट आएका नेपालीहरुले नर्वेमा पाँच मौसम महसुस गर्छन् —अप्रिल अन्त्यदेखि सेप्टेम्बरसम्म वसन्त, गृष्म र शरद ऋतु क्रमशः र पहिलो हिउँद अन्धकारमय जसमा घाम देखिँदैन र हिउँ पनि त्यस्तो परेको हुँदैन । हिउँदको दोस्रो भागमा भने हिउँले छपक्कै ढाकेको हुन्छ, कतिपय ताल, पोखरी र खोलाहरुमा पानी जमेर सजिलै हिँडेर वारपार र हिउँसँग सम्वन्धित धेरै खेलहरु खेलिन्छन् , खेलाइन्छन् । सायद त्यसैले होला, वर्षमा छ महिना उज्यालो र छ महिना अँध्यारो हुन्छ भनिन्छ ।
त्यस्तो देशमा नेपालीहरुले पनि उद्यम गरेका छन् र इमान्दारिताका साथ आफ्नो पेसा, व्यवसाय चलाइरहेका छन् । मैले भेटेका प्राध्यापन गर्ने विद्वानहरुमा प्राध्यापक डाक्टर विशाल सिटौला, डाक्टर सुरज थापा हुनुहुन्छ भने दुवईमा भेटिनु भएका डाक्टर ठाकुर उपाध्याय पनि नर्वेमा प्राध्यापन गर्नुहुन्छ । यसबाहेक अरुमा दन्त चिकित्सक डाक्टर प्रलय रिजाल हुनुहुन्छ जसले चिकित्सकका रुपमा सेवा गरिरहनु भएको रहेछ ।

नर्वेबाट पत्रकारितामा स्नातकोत्तर गरेर हाल न्युजफ्रमनर्थमा कार्यरत पत्रकार अनुष खड्काका अनुसार उद्यमीका रुपमा धेरै नेपालीहरु कार्यरत हुनुहुन्छ जसमा स्तुलन क्याफे एन्ड वार सञ्चालक प्रेमबहादुर परियार, हाम्रो इभेन्ट तथा के एन्ड के टुर्स(जसमा २०भन्दा बढी लगानीकर्ता)का कुमार पण्डित,न्यु एम्बेस्डर रेस्टुराँ एन्ड बारका विमला पान्डे तथा कृष्ण नेपाल, रोयल तन्दुरी रेस्टुराँका जीतेन्द्र शाही, चन्द्रा चन्द,नारबुतिक्केनका विकास दुवाडी,न्युबम्बे रेस्टुराँका विनोदराज गिरी,इन्डियन ओसन तन्दुरी रेस्टुराँका राजाराम कँडेल,शेर्पा रेनहोल्डका भीमबहादुर भण्डारी,काठमाडौँ रेस्टुराँका रोशन गिरि हुनुहुन्छ । प्रेम परियारका अनुसार नमस्ते रेस्टुराँ कम्पनीका (बम्बे कुजिन) किरण काफ्ले पनि रेस्टुराँ चलाएर बस्नु भएको छ । यीबाहेक अरुका वारेमा म खोज्दैछु र कतिपयसँग कुरा गरेर उहाँहरुको धारणा पनि सङ्कलन गर्नेछु ।

यसपटक चाहिँ नेपाली मूलका पोर्चुगाली नागरिक तर नर्वेको ओस्लोमा स्तुलन क्याफे एन्ड बार चलाएर बस्नुभएका भएका प्रेमबहादुर परियारका बारेमा ।
कास्कीको पोखरामा पिता जोभाने परियार र माता विभा परियारबाट २०२६साल साउन २६ गते जन्मिनु भएका प्रेमबहादुर परियार अहिले ओस्लोका सोफेनवर्ग पार्क नजिकै स्तुलन क्याफे एन्ड बार चलाएर बस्नु भएको छ । उहाँका पाँच सन्तानमध्ये एउटी छोरीमात्र नेपालमा हुनुहुन्छ । पत्नी शर्मिला परियार र छोरी रञ्जनासमेतको सहयोगमा सञ्चालित रेस्टुराँमा वर्षको ५०लाख नर्वेजियन क्रोनरसम्मको कारोबार हुने कुरा परियार बताउनु हुन्छ । ३५ वर्ष अघि स्थापित हिमालयन उलेन ब्लाङ्केट कम्पनीमार्फत् उद्योग व्यवसायमा सँलग्नता राख्नु भएका परियारले आफ्नो शिक्षाचाहिँ बी एल सम्मको अध्ययन भन्नुहुन्छ ।

आजभन्दा १९ वर्ष अघि घरेलु उद्योगको प्रवद्र्धनको सिलसिलामा युरोपको फ्रान्स आउनु भएका परियार फेरि नेपाल फर्कनुभन्दा युरोपमा नै आफ्नो भाग्य निर्माण गर्नतिर लाग्नुभएको पाइन्छ । फ्रान्स, बेल्जियम हुँदै पोर्चुगालमा बसोबास गर्न थाल्नुभएका परियारले ७ वर्षमा नै पोर्चुगालको नागरिकता पनि लिनुभयो र फेरि आफ्नो भाग्य निर्माणका लागि नर्वे प्रवेश गर्नुभयो । पाकिस्तानी लगानीकर्ताको स्तुलन क्याफे एन्ड रेन्टुराँमा काम गर्दागर्दै सो रेस्टुराँ करिब दुई वर्षसम्म बन्द रह्यो र २०१६मा सोही रेस्टुराँ खरिद गरेर अहिले पनि त्यही स्थानमा सञ्चालन गर्दै हुनुहुन्छ । व्यवसायका लागि किन रेस्टुराँ नै रोज्नु भयो त भन्ने मेरो प्रश्नमा उहाँ भन्नुहुन्छ—त्यही काममा विज्ञता हासिल गरियो सुरुदेखि नै , अनि पहिले आफूले काम गरेको सँस्थामा नै काम गर्ने विचारले यही रेस्टुराँ व्यवसाय नै रोजेँ ।

परियारको विचारमा नर्वे नै रोज्नुको कारण हो—यहाँ समानता छ, सामाजिक सुरक्षाको राम्रो प्रत्याभूति छ , शिक्षा र स्वास्थ्यमा सरकारको पूर्ण सुरक्षा प्राप्त छ र यहाँ कुनै प्रकारको विभेद छैन ।

नेपाल पत्रकार महासंघ, युरोप महादेशीय संरचनामा केन्द्रीय सदस्यसमेत रहनु भएका ऐक्यबद्धता मासिकका नर्वे प्रतिनिधि परियार आफूलाई पत्रकार भन्न पनि रुचाउनु हुन्छ र अब आफू नियमितरुपमा स्तम्भ लेखनका लाग्ने कोसिसमा रहेको बताउनु हुन्छ । उहाँ छिटै नर्वेबाट नेपालीमा पत्रिका निकाल्नका लागि नर्वेमा पत्रकारितामा स्नातक तथा स्नातकोत्तर या विद्यावारिधिमा अध्ययन गरिरहने र पत्रकारितामा चासो राख्ने साथीहरुसँग मिलेर काम गर्ने व्यवस्था गर्न थालेको बताउनु हुन्छ । यसका लागि नेपालका साथीहरुसँग पनि छलफल गरेको कुरा सगर्व बताउनु हुन्छ ।

नर्वेको निर्वाचनमा मतदाताको रुपमा समेत सहभागी भइसक्नु भएका परियार नेपालमा पनि यहाँको जस्तो निर्वाचन प्रक्रिया लागू गर्न पाए नेपाली निर्वाचनमा स्वच्छता कायम हुन्थ्यो कि भन्ने चाहना राख्नुहुन्छ ।

गैर आवासीय नेपाली संघ, नर्वेका सक्रिय सदस्य परियार अवको निर्वाचनमा पनि सक्रियतासाथ सम्पन्न गराउन लागेको बताउनु हुन्छ । यसअघि उपाध्यक्षसम्म हुनुभएका परियारले हालै रद्द भएको निर्वाचन प्रक्रियामा अध्यक्षको प्रत्याशी समेत हुनुहुन्थ्यो । साथीहरुका बीचमा समन्वय गरेर तोकेकै समयमा निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने कुरामा विश्वस्त देखिनु हुन्छ । होटेल व्यवसायी परियार नेपाल फर्केर जान सकिने र आफ्नो विज्ञता होटेलमा नै रहेकोले भविष्यमा पोखरामा रिसोर्ट खोल्ने विचार रहेको बताउनु हुन्छ र सधैँ नेपालको सम्झना आइरहने र नेपालमा केही न केही सामाजिक काम गर्ने इच्छा रहेको बताउनु हुन्छ । नेपाली बहादुर हुन्छन्, नेपाली इमान्दार हुन्छन् र अरुलाई सम्मान गर्दै आफ्नो कर्तव्य पालनामा सदैव दत्तचित्त रहन्छन् भन्ने कुरामा आफ्नू मूलमन्त्र रहेको बताउने परियार नर्वेमा नेपालीहरुको व्यवहारबाट कहीँ पनि कुनै गुनासो नरहेको बताउनु हुन्छ । अर्कोपटक अरु कुनै उद्यमी र नर्वेको वारेमा । क्रमशः