कस्ता व्यक्ति संसारमा विरलै पाइन्छन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 9, 2019

सुलभाः पुरुषा राजन् ! सततं प्रियवादिनः ।
अप्रियस्य च पथ्यस्य वक्ता, श्रोता च दुर्लभः ।। – पञ्चतन्त्र, २।१६९

सधैँ मीठो बोल्ने मानिस सजिलै पाइन्छन् । नमिठो वा खस्रै भए पनि भलो भन्ने र सुन्ने मान्छे संसारमा हत्तपत्त पाइँदैनन् ।

संसारमा हितकारी व्यक्ति पाउन दुर्लभ छ । सधैँ मीठो बोलेर प्रशंसा मात्र गर्ने व्यक्ति जति पनि प्राप्त हुन्छन् । तर गुण लाई गुण र दोषलाई दोष भनी छुट्याइदिने मान्छेको प्राप्यता कम छ । असल मित्र भनेको त्यो हो जसले साँचोलाई साँचो र गलतलाई गलत भन्न सक्छ । तर गलत कुरा हो भन्दा मित्र रिसाउँछ भन्ने डरले गलतलाई पनि सही नै हो भन्ने भयो भने जीवनमा अवनतिको विकल्प रहँदैन । अतः तीतै भए पनि सत्यलाई उजागर गर्न सक्नु पर्दछ । तर यहाँ सहीलाई ठीक र गलतलाई बेठिक भन्ने मान्छेको अभाव छ । यस्ता व्यक्ति पाइनु अहोभाग्य हो भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–