पत्रकार महासंघका माग सम्बोधन गर्ने नेकपाको लिखित प्रतिबद्धता


हरेकपल July 9, 2019

काठमाडौं, २४ असार । झण्डै ३ महिनादेखि आन्दोलनरत नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका मागहरु सम्बोधन गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिबद्धता जनाएको छ । नेकपाको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले मिडिया काउन्सिल विधेयकबारे महासंघका मागलाई संशोधन गरी सम्बोधन गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।

भट्टराईले महासंघलाई ‘ध्यानाकर्षण भएकोबारे’ शीर्षकमा पत्र लेखेर यस्तो प्रतिबद्धता जनाएका हुन्। राष्ट्रियसभामा विचाराधीन उक्त विधेयकबारे भट्टराईले पत्रमा भनेका छन्, ‘मिडिया काउन्सिल विधेयकका सम्बन्धमा नेपाल पत्रकार महासंघले काउन्सिल गठन, स्वायत्तता र जरिवाना गर्ने व्यवस्था लगायत उठाएको चासो र सरोकारका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। त्यस सम्बन्धमा संविधान र संसदीय प्रक्रियाबमोजिम तपाईंहरूको चासो र सरोकारलाई हाम्रो प्रष्ट प्रतिबद्धता रहेको व्यहोरा जानकारी गराउन चाहन्छौँ।’

उनले संसद्मा विचाराधीन अन्य सञ्चारसम्बन्धी विधेयकमा पनि संविधान र आम सञ्चार नीति २०७३ बमोजिम पत्रकार महासंघ र अन्य संबद्ध पक्षसँग छलफल गरी संशोधन गर्ने गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले अन्य माग पनि संसदीय प्रक्रियाबाटै महासंघ र सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै पारित गरिने उल्लेख गरेका छन् । उनले महासंघलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह समेत गरेका छन् ।

लिखित प्रतिबद्धता जनाउनुअघि नेकपा संसदीय दलको कार्यालयमा नेकपा महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ, नेता योगेश भट्टराई तथा प्रमुख सचेतक खिमलाल भट्टराईले महासंघका वार्ता टोली अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव उदय जीएम, सदस्य यम विरही, जानुका बराल लगायतसँग छलफल भएकाे थियाे ।