चामुण्डा माविको ५३ औं वार्षिकोत्सव आयोजना हुँदै, राष्ट्रपति भण्डारी प्रमुख अतिथि


हरेकपल July 10, 2019

काठमाडाैँ । राजधानीको गोकर्णेश्वर–६ स्थित चामुण्डा माविले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा विद्यालयको ५३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । यही असार २८ गते शनिवार आयोजना गरिने कार्यक्रमबीच राष्ट्रपति भण्डारीले विद्यालयको नयाँ भवनको उद्घाटन गर्ने कार्यक्रम समेत तय भएको विद्यालयका प्राचार्य यादवप्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार वार्षिकोत्सव तथा अभिभावक दिवसकै क्रममा विद्यार्थीहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ भने विद्यालयको विविध पाटो समेटिएको स्मारिक पनि विमोचन गरिने भएको छ । सोही अवसरमा एसइई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान समेत गरिने प्राचार्य पौडेलले बताउनुभयो ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यसैबीच विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बुधवार विहान विद्यालय प्रांगणमा वृक्षारोपण कार्यक्रम आयोजना गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गोपाल तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीहरुसँग सँगै स्थानीय जनप्रतिनिधि, पूर्व विद्यार्थी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।