ककनी नुवाकोट काठमाडौं सम्पर्क समिति गठन


हरेकपल July 10, 2019

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाले ककनी नुवाकोट काठमाडौं सम्पर्क समिति गठन गरेको छ । नुवाकोटको ककनी गाउँपालिकाबाट काठमाडौंमा आई विभिन्न पेशा, व्यवसाय गरेर बस्दै आएका नेपाली काँग्रेस सर्मथक कार्यकर्ताहरूको बृहत भेलाले केन्द्रीय नेता डा.रामशरण महतको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि अर्जुननर्सिङ्ख केसी, बहादुरसिहं लामा , जिल्ला सभापति जगदीशनर्सिङ्ख केसी, क्षेत्रीय अध्यक्ष अर्जुन न्यौपाने सहितको उपस्थितिमा १९ सदस्य समिति गठन भएको छ ।

उक्त समितिको अध्यक्ष ऋषिकुमार तामाङ, सल्लाहकारमा ज्योति फुयाल र प्रेस सल्लाहकारमा नवराज घिमिरेलाई सर्वसम्मत चयन गरिएको कुरा जिल्ला सभापति केसीले जानकारी गराएका छन । नयाँ विधानमा व्यवस्था भएबमोजिम ककनी गाउँपालिका काठमाडौं सम्पर्क समिति गठन गरिएको कुराको जानकारी गराउदै अब यसरी नै नुवाकोट जिल्लाका सबै गाँउपालिका र नगरपालिकाहरूमा सम्पर्क समिती गठन गरिने र काँग्रेसलाई गाउँदेखि जिल्लासम्म मजबुत बनाउन यस्ता सम्पर्क समितिहरूको ठूलो भूमिका रहने कुरा पनि जिल्ला सभापति केसीले बताए ।

भेलालाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिति महतले हिजोका दिनमा काँग्रेसले नै यो देशलाई बचाएको र भोलिका दिनमा पनि काँग्रेसले नै देशको निकास दिनेमा ढुक्क भएर अगाडि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए । उनले हालै आएको बजेट विकासमुखी नभएको टिप्पणी गरे । भेलामा विशिष्ट अतिथि अर्जुन नर्सिङ्ख केसीले अब गुट उपगुटमा नलागी काँग्रेस एक भएर अगाडि बढ्ने कुरा बताए ।

त्यस्तै अर्का नेता बहादुरसिहं लामाले एकले अर्कालाई निस्तेज पार्ने तरिकाले अघि बढेमा काँग्रेस नै सिद्धिने भन्दै मिल्नुको विकल्प नरहेको बताए । उनले यदि कसैले पेलेरै लान खोज्छ भने आफूले पनि डटेरै सामना गर्ने कडाचुनौती समेत दिए । बोल्ने क्रममा क्षेत्रीय सभापती अर्जुन न्यौपानेले काँग्रेस विचार, सिद्धान्त र पद्दतिमा चल्ने पार्र्टी भएकोले यसबाट विमुख हुन कोही पनि सक्तैन भन्दै उनले भने– पार्टीभित्र पनि अरूको अस्तित्वलाई स्वीकार गरेर जान सक्ने परिपाटीको विकास हुन जरूरी छ ।