पोखरालाई पर्यटकीयसँगै खेलकूदको राजधानी बनाइने : मुख्यमन्त्री गुरुङ


हरेकपल July 12, 2019

कास्की, २७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटकीयसँगै खेलकूदको राजधानी बनाउन सरकार लागि परेको बताउनुभएको छ ।

गण्डकी प्रदेशस्तरीय ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिहिबार पोखरा रङ्गशालामा उद्घाटन गर्दै उहाँले केही नीतिगत काम सकेर पोखरालाई खेलकूदको राजधानी घोषणा गरिने बताउनुभयो ।

आगामी दिनमा संस्थागत र संरचनागत हिसाबले अघि बढेर खेलकूदलाई व्यावसायीकरण गर्ने तथा खेलाडी, निर्णायक र प्रशिक्षकलाई खेल क्षेत्रमा टिकाइराख्ने योजना बनाएर सरकारले काम गर्ने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले खेलकूदको विकासका लागि खेलकूद एकेडेमी स्थापना गर्न सरकारले आगामी वर्ष बजेट विनियोजन गरेको बताउनुभयो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले सङ्घीयता आइसक्दा समेत खेलाडी तथा प्रशिक्षकको जीवनमा परिर्वतन आउन नसकेको उल्लेख गर्नुभयो

प्रतियोगिता आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु खेलका ४८ स्वर्ण, ४७ रजत र ६० कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो ।

प्रदेशका ११ जिल्लाबाट जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट भएका खेलाडी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका छन् ।
रासस