मनसुन सक्रिय, देशभर लगातार वर्षा


हरेकपल July 12, 2019

 

काठमाडौँ, २७ असार । वर्षाका कारण देशभरको जनजीवन प्रभावित । आइतबारसम्म देशका अधिकांश भू–भागमा मनसुन सक्रिय हुने भएकाले जोखिम बढेको मौसमविद् मञ्जु बासीले सीआइएनसँग बताउनुभयो । देशभर मनसुन सक्रिय भएकाले बाढीपहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन मौसम विद्हरूले आग्रह गरेका छन् । देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षाले मानिसहरु घर बाहिर निस्कन समस्या भएको छ । पहाडमा पहिरो र तराईमा डुवानको जोखिम बढदै गइरहेको छ । ठाउँ ठाउँका राजमार्गहरु अवरुद्ध भएका छन् । यातायातका साधानहरु चल्न नसकेपछि यात्रुहरु गन्तव्यमा पुग्न नसकेर विभिन्न ठाउँमा अलपत्र परेको स्थानीय प्रशासनले जनाएका छन्।

गएको २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिमरामा भएको छ। त्यहाँ २०६ मिलिमिटर पानी परेको छ। यस्तै पोखरामा सबैभन्दा कम ०.५ मिमी पानी परेको मौसम पूर्वानुमान महाशाखाको रेकर्डमा जनाइएको छ।

यसैगरी विराटनगरमा १७२ मीमी पानी पर्दा ओखल ढुंगामा १०७ र धनकुटामा १०३ मीमी पानी परेको छ। काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ५१ मिलिमिटर पानी परेको छ। देशका अधिकांश स्थानमा पूर्ण बदली रही मध्यपूर्वका केही स्थान र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको महाशाखाले जनाएको हो ।