काठमाडौं, २८ असार । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारले चीनको सिचुवान प्रान्तसँग भगेनी सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिए ।
१० दिने चीन भ्रमण सकेर स्वदेश फर्केपछि पत्रकारसँग आज कुराकानी गर्दै उनले बौद्धधर्मले जोडिएका नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले चिनियाँ लगानी गर्ने ठाउँ खोजिरहेका र नेपाल लगानीकर्ता खोजिरहेको अवस्थामा भएको आफ्नो भ्रमणले चिनियाँ लगानी भित्र्याउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको निमन्त्रणामा २० सदस्यीय टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री पोखरेल चीन पुगेका थिए ।
उनले चीनमा रहँदा चीनको दुई प्रान्तको भ्रमण गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग पनि भेटघाट गरेका थिए ।